काठमाडौंमा हर्ब्स एक्स्पो हुँदै

काठमाडौं । आठौं नेपाल हर्ब्स् एक्स्पो काठमाडौंमा हुने भएको छ। नेपाल हर्ब्स् तथा हर्बल उत्पादक संघ फागुन १७ देखि तीन दिनसम्म ठमेलस्थित छाया सेन्टरमा हुने एक्स्पोमा हुने संघका अध्यक्ष गोविद घिमिरेले जानकारी दिए।

‘गुणस्तरीय जडिबुटी दिगो अन्तर्राष्ट्रिय बजार, प्रोत्साहन र सम्मान जिम्मेवार उद्यमको आधार’ भन्ने मुल नाराका हुने एक्स्पोमा ५० वटा स्टल रहने अध्यक्ष घिमिरेले जानकारी दिए। एक्स्पोमा सात वटा कृषि, १२ वटा प्रमाणीकरण गरिएका अर्गानिक उत्पादन, पाँच वटा प्रविधि र गुणस्तरसम्बन्धी जानकारी दिने स्टल रहनेछन्।

यस्तै, १२ वटामा कस्मेटिक, स्पा र मसाजसम्बन्धी उत्पादन तथा जानकारी, चार वटा आयुर्वेद तथा क्लिनिक, सात वटा सुगन्धित वनस्पतिसहितका विरुवा र फूलहरुका स्टल र परम्परागत रुपमा जडिबुटीको सहायताले गरिने उपचार मेलाका मुख्य आकर्षण रहेको आयोजकले जनाएको छ।

एक्स्पोमा चार वटा स्टल नेपालबाहिरका उद्यमी र खरिदकर्ताका रहने छन्। यस वर्ष भारत, बंगालादेश, चीन। फ्रान्स, वेल्जियम, क्यानडा, जर्मनीलगायत दुई दर्जनभन्दा बढी मुलुकको सहभागिता रहने जनाइएको छ। नेपालको जडिबुटी प्रवर्द्धन तथा खरिदका लागि विभिन्न व्यवसायिक कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहनेछ।

एक्स्पोमा नीति तथा मूल्य श्रृङ्खला, अर्गानकि र निर्यात, प्रविधि र गुणस्तर गरी तीन वटा विषयमा तीन दिनसम्म छलफल हुने जनाइएको छ।

Loading...