हनोईमा किम र ट्रम्पको दोस्रो भेट, यसपटक ‘उत्कृष्ट नतिजा’ आउने किमको दावी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर सम्मेलनले सकारात्मक नतिजा निकाल्ने आफ्नो विश्वास रहेको उत्तर कोरियाली नेता किम जोङ उनले बताएका छन् ।

दुई नेताबीच भियतनामको राजधानी हनोईमा बुधबार भएको भेटमा किमले ट्रम्पलाई भने, “म विश्वस्त छु कि सम्मेलनबाट विशिष्ट परिणाम प्राप्त हुनेछ, जसलाई सबैले स्वागत गर्नेछन् ।”

“म वार्ता सफल पार्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु,” किमले भने ।

अमेरिकी राष्ट्रपति ट्रम्प र नेता किम हनोईस्थित सोफिटेल मेट्रोपोल होटेलमा एकआपसमा करिब २० मिनेट कुराकानी भएको थियो । त्यसपछि उहाँहरू आफ्ना निकट सहयोगीका साथ सोही होटेलमा हल्का भोजमा सहभागी बनेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेताबीच गत वर्षको जुनमा पहिलो पटक भेट भएको थियो । उक्त भेटमा नेता किमले कोरियाली प्रायद्वीपलाई आणविक हतियारबाट स्वतन्त्र बनाउने विषयमा हस्ताक्षर गरेका थिए । तर वार्तापछि लामो समयसम्म उत्तर कोरिया र अमेरिकाबीच औपचारिक छलफल हुन सकेको थिएन ।

“हामी पुनः वार्ताका लागि हनोई आएका छौँ,” किमले थपे । मलाई लाग्छ थप विचारका साथ अघि बढ्ने समय आएको छ । “हामीले यस घडीमा धैर्य बन्दै उत्कृष्ट सोचविचारसहित अघि बढ्ने प्रयास गर्नुपर्छ ।”

दुई नेताबीच कुराकानी हुनु पहिले उनीहरूले हार्दिकतासाथ हात मिलाएका थिए । उहाँहरू बिहीबार पुनः भेट्ने र विस्तृत छलफल हुनेछ ।

Loading...