सप्तरीमा यस्तो विभत्स घटना, वृद्ध दम्पतीको कोठाभित्रै जलाएर हत्या

सप्तरी, १४ फागुन । खडक नगरपालिका–५ खरचुहियामा आज ७० वर्षीय सबुरी साह र उनकी श्रीमती ६५ वर्षीया वेचनीदेवी साहको हत्या भएको छ।

साह दम्पतीको हत्या गरी जलाइएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ। अनुसन्धानमा सहजता होस् भनेर पूर्व क्षेत्रीय प्रहरी आवासीय मावि, धरानबाट तालीम प्राप्त कुकुर मगाएर प्रहरीले अनुसन्धान थालेको छ।

सधैँ सबेरै उठ्ने गरेका साह दम्पती बिहान ८ बजेसम्म नउठेपछि हेर्न जाँदा दुवैको जलेको अवस्थामा फेला परेको छिमेकीले बताए। छिमेकी सरस्वती चौधरीका अनुसार दुवैको शरीरको केही भाग र कपडाहरु जलेको तथा कोठा र आँगनमा रगतको टाटा देखिएकाले हत्याको सम्भावना छ।

साह दम्पतीका जेठा छोराबुहारीसहित उदयपुरको गाईघाटमा र कान्छा छोराबुहारीसहित धरानमा बसोबास गर्छन्। छोरा, बुहारी नाती–नातिनासहित बाहिर बसेकाले साह दम्पती मात्र घरमा बस्ने गरेका थिए। आर्थिक रुपले गाउँका सम्पन्न साह घरकै एक सटरमा धान, गहुँ, मसला पिँध्ने मिल चलाएर बसेका थिए।

साहले गाउँलेलाई ब्याजमा लाखौँ रुपैयाँ ऋणकर्जा दिने गरेको छिमेकीको भनाइ छ। मिलनसार स्वभावका साह दम्पतीको गाउँमा कसैसँग झगडा र विवाद नभएको छिमेकी बताउँछन्।

यता हत्यारालाई पछ्याउँदै सर्च अपरेशनमा खटिएको अनुसन्धान टोलीसहितको तालीम प्राप्त कुकुर घटनास्थलभन्दा दुई किलोमिटरको दूरीमा रहेको एउटा पोखरीमा गएर रोकिएको छ। हत्यारालाई चाँडै पत्ता लगाउने दाबी गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले अपराधी पत्ता लगाउन कुनै किसिमको लापरवाही नहोस् भनेर शुरुआतदेखि नै तालीम प्राप्त कुकुर र फोरेन्सिक एक्सपर्टसहितको टोली खटाइएको बताए।

Loading...