कांग्रेसका दुई समूहबीच सानेपामा भयो झडप, झडपमा प्रहरीको लाठी बर्सियो

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठनका दुई समूहबीच ढुंगा हानाहान भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामै नेविसंघका दुई समूहबीच झडप भएको हो । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र अर्का नेता रामचन्द्र पौडेलका निकट रहेका विद्यार्थी समूहबीच विवाद हुँदै आएकोमा यसपटक देउवा र अर्का नेता कृष्ण सिटौला नजिक रहेका विद्यार्थी समूहबीच झडप भएको हो ।

नेविसंघको १२ औं महाधिवेशन गराउन तदर्थ समिति गठन गर्न माग गर्दै आएका नेपाल विद्यार्थी संघका दुई समूहबीच सानेपामा झडप भएपछि प्रहरीले बलप्रयोग गरेर छुट्टाएको थियो ।

सभापति देउवा र पूर्वमहामन्त्री सिटौला समूहका विद्यार्थी समूहबीच आइतबार दिउँसो झडप भएपछि झडपलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको थियो।

यसअघि फागुन ९ गते नेविसंघ कार्यकर्तासँग उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री प्रकाशशरण महतको विवाद भएको थियो। नेविसंघभित्र अराजकता हावी भएको भन्दै अनुशासनको कारबाही गर्न माग गर्दै देउवा निकट नेविसंघले पार्टी कार्यालयमा मौन प्रदर्शन गरेको थियो।

नेविसंघ नेता ऋषिकेशजंग शाह नेतृत्वले गरेको मौन प्रदर्शनमा उनीहरूले लिएका व्यानर अर्को समूहले च्यातेपछि इँटा हानाहान भएको हो। प्रहरीको लाठी र इँटा प्रहारबाट निवर्तमान सहमहामन्त्री बद्री मुडबडी, दीपेन्द्र क्षेत्री, दिवाकर अर्यालसहित देउवा–सिटौला समूहका नेविसंघ कार्यकर्ता घाइते भएका छन्।

निवर्तमान महामन्त्री कुन्दन काफ्ले समूहका नेविसंघ नेता सुशील भट्टले तदर्थ समिति गठनका लागि माग गर्न दबाब दिन माग गर्दा आक्रमण भएको बताए। विधानमा उल्लेख भएअनुसार नै ३२ वर्षे उमेरहद कायम गर्न सिटौला समूहले माग गर्दै आएको छ।

देउवा समूहका विद्यार्थी नेताहरू भने १२ औं महाधिवेशनबाट मात्रै ३२ वर्षे उमेरहद लागू गर्नुपर्ने बताउने गरेका छन्। महाधिवेशन गराउनका लागि बन्ने तदर्थ समितिमा उमेरहद लगाउने वा नलगाउने भन्ने बहस कांग्रेस केन्द्रीय समिति बैठकमा पनि छ ।

नेविसंघ सभापति नैनसिंह महरले राजीनामा दिएपछि नेविसंघ नेतृत्वविहीन छ। २० जिल्लामा अधिवेशन भए पनि क्याम्पस, जिल्ला, प्रदेशहरुमा नेविसंघको संगठन रिक्त छ।

Loading...