सीटीइभीटीको वार्किकोत्सवमा आक्रामक हुँदै शिक्षामन्त्रीले भने, ‘आफूलाई सम्झेर मम भन्नुस्’

संजीप शुभचिन्तक, १२ फागुन । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका अध्यक्ष समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सीटीइभीटीको समाजमा स्वस्छ छवी नभएको बताएका छन । परिषदको बैठक बस्दा भयङ्कर गलत काम हुन लागेको संदेश जाने कुराले समाजमा यसको स्वस्छ छवी नभएको मन्त्री पोखरेलले बताएका हुन ।

आइतवार सानोठिमीस्थित परिषद परिसरमा आयोजित ३१ औं वार्सिकोत्सव समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका पोखरेलले भने, ” आजै म यहाँ आउनको लागि जनकपुर बिमानस्थलमा थिए । प्रदेशका सामाजिक विकास मन्त्रीले सीटीइभीटीको परिचय राम्रो नरहेको सुनाउनुभयो । एक जिम्मेवार मन्त्रीले समेत यस्तो सोचिरहदा यो सोच बदल्ने गरी सीटीइभीटी समाजमा स्थापित हुनुपर्दछ ।” सीटीइभीटी प्राविधिक तथा व्यवसायिक जनशक्ति उत्पादन गर्ने पवित्र उदेश्यबाट स्थापित भएकोले सम्बन्धन दिने र पैसा कमाउने धन्धाको आरोपबाट यो मुक्त हुनुपर्नेमा उनको जोड थियो । पूर्वीय दर्शनको प्रसंग कोट्याउदै उनले भने,” सीटीइभीटी सम्बद्ध सबैले आफ्नो भूमिकाको समिक्षा गर्दै आफूलाई सम्झेर मम भनेर स्वयममा प्रश्न गर्न, मनन गर्न र अगाडी बढ्न आवश्यक छ । ”

मन्त्री पोखरेलले अब सीटीइभीटी रुपान्तरीत हुनेसमेत खुलासा गरे । सीटीइभीटी नरहने हल्लाको पछि नलाग्न पनि उनको सुझाव थियो । ‘प्रस्तावित शिक्षा ऐनको विषयलाई लिएर भ्रमित हुनु आवश्यक छैन, सीटीइभीटी रहन्छ र सार्वजनिक शिक्षाको झण्डा बोक्ने अभिभारा पनि यसकै काधमा छ ।” उनले भने । एक अर्को प्रसंगमा निजीलाई निषेध गर्ने सरकारको र आफ्नो नीति नरहेको जिकिर गरेका मन्त्री पोखरेलले निजी शिक्षालयहरु रक्सी पसल जस्तो नभएको भन्दै तिनीहरुको अनुगमन र नियमनको प्रभावकारी संयन्त्र बनाउने समेत स्पष्ट पारे । शिक्षा सेवामा काम गर्ने व्यक्ति नाफामुखी भन्दा पनि सेवामुखी हुनुपर्नेमा उनको जोड रहेको थियो ।

उक्त वार्षिकोत्सव कार्यक्रममा बिशेष अतिथिको रुपमा बोल्दै राष्ट्रिय योजना आयोगकी सदस्य सचिव उषा झाले सीटीइभीटीको योगदानको प्रसंसा गर्दै देशको प्राविधिक शिक्षाको विकासमा यसको बिकल्प नखोजिएकोले पेशागतरुपमा निश्चिन्त हुन ढाडस दिएकी थिइन् भने परीषदका उपाध्यक्ष डा कुलबहादुर बस्नेतले परिसदले ३२ औ वार्षिकोत्सव मनाउन पाउनेमा शंका गर्दै परीषदको भविष्यलाई लिएर चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा परिषदका सदस्य सचिव डा पुष्प रमण वाग्लेले प्रगती विवरण प्रस्तुत गरेका थिए । वाग्लेले शैक्षिक सत्रमा थप १८ वटा आङ्गिक शिक्षालय थपिएका, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा(टेक्स)कार्यक्रम सञ्चालन गर्ने २९२ विद्यालय थपिएका बताए ।

शिक्षालयहरुमा प्रशिक्षार्थीको भर्ना क्षमता बढेर ६० हजार ८ सय ६९ जना पुगेको बताउदै उनले प्रत्येक प्रदेशका ६ हजार युवाका दरले ७ प्रदेशमा ४२ हजार युवालाई सीपमुलक तालिम दिने तैयारी भैरहेको समेत उद्घोष गरे ।

प्रधानमन्त्री केपी ओलीले आफ्नो १ बर्षे उपलब्धि सार्वजनिक गर्दा सीटीइभीटीको उपलब्धि पनि समावेश गरेकोले सीटीइभीटी सन्तोषजनक अवस्थामा रहेको उनको भनाइ थियो ।

कार्यक्रममा ट्रेड युनियनको तर्फबाट बोल्दै कर्मचारीका नेता तेज बहादुर खत्रीले सीटीइभीटीको इतिहास र कर्मचारीको योगदानलाई कसैले पनि मेट्न नसक्ने बताउदै बिना छलफल आउन लागेको सीटीइभीटीको संरचना यदि प्रतिकूल भए आफूहरुलाई अमान्य हुने चेतावनी दिएका थिए । उक्त कार्यक्रममा फोरम फर हेल्थ साइन्सका अध्यक्ष खगेन्द्र अधिकारीले मन्त्री पोखरेलले रक्सी पसलसंग निजी सस्थाहरुलाई तुलना गरेकोमा आपत्ति प्रकट गर्दै आफ्ना उत्पादनले देशको कुनाकाप्चामा पुगेर राष्ट्रसेवा गरिरहेको उल्लेख गरे ।

राष्ट्रिय परीक्षा वोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेल,निजी प्राविधिक शिक्षालय महासंघका दुर्गा भुसाल, मन्त्रलयका सहसचिवहरू समेत अतिथिकोरुपमा निम्त्याइएको कार्यक्रमको संचालन उपनिर्देशक दीपकबाबु अर्यालले गरेका थिए भने स्वागत मन्तब्य महेश भट्टराइको रहेको थियो । उक्त अवसरमा परिषदका विभिन्न कार्यालयमा रही सर्वोत्कृष्ट र उत्कृष्ट कर्मचारीहरुको नाम घोषणासमेत गरिएको थियो भने विभिन्न बिषयमा सर्वोत्कृष्ट विद्यार्थीहरु पुरस्कृत पनि भएका थिए ।

Loading...