नख्खु बम विष्फोटबारे गृहमन्त्रीले संसदलाई दिए यस्तो खतरा सूचना

काठमाडौं, १२ फागुन । ललितपुरको नख्खुमा भएको बम विष्फोट कसले गराएको हो भन्ने बारे गृहमन्त्रीले मुख खोलेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले बमविष्फोटबारे जानकारी दिएका हुन् । बैठकमा गृहमन्त्रीले बम विष्फोटबारे जानकारी दिँदै विगतमा उन्मुत्ति दिएका कारण संविधान विरोधी तत्वहरु हौसिएर यस्ता घटना घटाउन थालेको बताए ।

गृहमन्त्री थापाले एकजनाको ज्यान जाने गरी भएको नख्खु बम विस्फोटमा विप्लव नेतृत्वको नेकपाको संलग्नता देखिएको बताए । नख्खु लगायतका स्थानमा भएको घटनाको विवरण प्रस्तुत गर्दै उनले भने, ‘समानान्तर सरकार चलाउने गरी अगाडि बढेको नेकपा विप्लव समूहले घटना घटाएको सूचनाहरु प्राप्त भएका छन् ।’

विप्लव समूहको पछिल्लो बैठकका निर्णयहरु सरकारले प्राप्त गरेको र त्यसले पनि विस्फोटका घटनामा उनीहरुको संलग्नता हुनसक्ने देखाएको उनले जानकारी दिए । विप्लव समूहको योजना समानान्तर सरकार चलाउने भएको तर, अहिले लगानी सम्मेलनलाई लक्षित गरेर घटना घटाएको उनको दाबी छ । गृहमन्त्री थापाले शान्ति सुरक्षा सुदृढ गर्न ठोस कार्ययोजना बनाउने जानकारी गराए ।

गृहमन्त्री थापाले एक नम्बर प्रदेश वाहेक सबै प्रदेशमा गरी २१ वटा एनसेलको टावरमा आगजनीको प्रयास भएको जानकारी पनि दिए । यो विप्लव समूहको केन्द्रीय योजनाअनुसार नै भएको पाइएको पनि उनले गृहमन्त्रीले जानकारी दिए । यो आक्रमण लगानी सम्मेलनलाई लक्षित गरिएको उनको दावी थियो ।

Loading...