एनसेलमाथि भएको आक्रमणको नेकपाले लियो जिम्मा, सर्वसाधारण परेकोप्रति दुःख व्यक्त

काठमाडौँ । ललितपुरकाे नख्खुमा रहेकाे केन्द्रीय कार्यालय र देशभर एनसेल माथि गरिएको कारवाहीको जिम्मा नेपाल कम्युनिस्ट पार्टीले लिएको छ । फागुन १० गते राति एनसेलको मुख्यालय र देशैभरी बम विष्फाेटसहित टावरमा आगजनी गरिएको थियाे ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले एनसेलले ७३ अर्बभन्दा बढी कर छलेकाे, अदालतले गरेका निर्णय पालना नगरेकाे नेपालमा प्राप्त आम्दानी नेपालमा नै लगानी नगरी विदेश लगेको, राज्यको स्वामित्वमा रहेको नेपाल दूरसञ्चारका सेवाहरूलाई निष्प्रभावी बनाउन त्यहाँका कर्मचारीहरूलाई खरिद गरेकाे, टेलिकमका कर्मचारीलाई प्रभावित पारी आफ्नो ग्राहक सङ्ख्या बढाएको लगायतका गम्भीर गल्ती गरेकाेले याे कारवाही गरिएकाे नेकपाले जनाएकाे छ ।

नेकपाले एक पर्चा जारी गरी एनसेलमाथि गरिएकाे आक्रमणको जिम्मा लिएको हो । उक्त पर्चामा नेकपाले अहिले गरिएकाे कारवाही चेतावनीस्वरूप सांकेतिक मात्रै  गरिएकाे समेत जनाएकाे छ । साथै यदि यसको अबज्ञा गरेर कर नतिरे एनसेलले थप गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि पर्चामा दिइएको छ ।

नेकपाले ललितपुरमा एक जनाको ज्यान गएको घटनालाई दुःखद् भन्दै व्यक्ति वा सर्वसाधारणप्रति कुनै लक्षित वा मानवीय क्षति गर्ने योजना नरहेको समेत जनाएको छ । उक्त दुर्घटनामा पार्टी दुखित भएको नेकपाले जनाएको छ ।

याे घटनाकाे जिम्मा पार्टीले लिएकाे भन्दै उक्त पार्टीकाे मुखपत्र राताेखबर साप्ताहिकले समाचार समेत प्रकाशित गरिसकेकाे छ । राताे खबर साप्ताहिककाे अनलाइन इराताेखबरमा घटनाकाे जिम्मा पार्टीले लिएकाे उल्लेख गरिएकाे छ ।

ललितपुरको नक्खुस्थित एनसेलनको मुख्यालयमा भएको बम विस्फोटमा परी गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो भने दुई जनाको उपचार भइरहेको छ ।

विस्फोटनमा परी गम्भीर घाइते लमजुङ घर भई ललितपुरको भैंसेपाटी बस्दै आएका ४९ वर्षीय सिंहप्रसाद गुरूङको शनिबार राति नै मृत्यु भएको थियो । अस्पतालको अनुसार राति साढे १ बजे गुरुङलाई मृत घोषणा गरिएको थियो । विस्फोटका कारण गुरुङका दुवै खुट्टा चुँडिएको, कम्मरका हड्डीहरु भाँचिएका र रगत बग्ने ठूला नशाहरु काटिएको थियो । अस्पतालका अनुसार अत्याधिक रक्तश्राबका कारण उनको मृत्यु भएको थियो ।

उक्त घटनामा ललितपुर ४ बागडोल बस्ने २६ को प्रतिक्षा खड्का र काभ्रेको बनेपा घर भई मेडिसिटी अस्पतालमा स्टाफ नर्सको रूपमा कार्यरत २५ वर्षीया उरुशा मानन्धरको उपचार भइरहेको छ ।

त्यसैबीच शुक्रबार साँझ नै एनसेलका अन्य टावरमा पनि बम विस्फोट तथा आगजनी गरिएको छ । काभ्रेको कोसीपारीस्थित भुम्लु गाउँपालिकास्थित सल्ले भुम्लु डाँडामा रहेको एनसेलको बिटिएस टावरमा आगजनी भएको छ । पोखरा महानगरपालिका–२७ चन्द्रकालिका डाँडाँको नाकस्थित एनसेलको टावरमा आगजनी भएको छ । प्रहरीको अनुसार टावर जलेर नष्ट भएको छ ।

त्यसैगरी रौतहटको चन्द्रपुर नगरपालिकास्थित गैडाटारमा रहेको एनसेलको टावरमा पनि आगजनी गरिएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा पनि आगजनी गरिएको छ । टावरमा लगाइएको घेरबारको गेटको ताला तोडेर भित्र प्रवेश गरी टावरमा आगजनी गरिएको पाइएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । आगजनीबाट टावरका केबुल र बोर्ड जलेको अवस्थामा रहेको छ ।

शुक्रबार राति नै बागलुङका विभिन्न स्थानमा रहेकाा एनसेलका टावरमा आगगजनी भएको छ । बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आक्रमण भएको हो । रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ३ सूर्यपुरास्थित एनसेलको टावरमा पनि आगजनी गरिएको छ । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ७ अम्रसामा एनसेलको टावरमा आगजनी गरिएको छ । शुक्रबार राति नौ बजेतिर एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ ।

नवलपुर प्रहरीका अनुसार आगजनीबाट एनसेलको टावरमा क्षति पुगेको छ । स्थानीयका अनुसार सुरुमा विस्फोट गराएर आगो लगाइएको हो । आगजनीपछि नवलपुर क्षेत्रमा एनसेलको नेट्वर्कले काम गर्न छाडेको छ । रौतहटको चन्द्रपुर नगरपालिकास्थित गैडाटारसहित करिब दुई दर्जनबढी टावरमाथि बम विस्फोट र आगजनी गरिएको छ । क्षतिको कारण आसपास क्षेत्रमा सेवा अवरुद्ध भएको छ ।

Loading...