बागलुङ दुर्घटनाका घाइतेको उपचार गर्न खर्च अभाव

बलेवा, ११ फागुन । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा गत मङ्गलबार भएको पिकअप भ्यान दुर्घटनाका घाइतेहरुको उपचारमा आर्थिक अभाव भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका घाइतेहरुको उपचार खर्च अभाव भएको स्थानीय जीवन पुनले जानकारी दिए ।

घाइतेमध्ये गम्भीर अवस्थामा अति सघन कक्षमा उपचार गराइरहेका सङ्गम श्रीस र सम्झना पुनको उपचारका लागि लखौँ रुपैयाँ खर्च हुने अस्पातल स्रोतले जनाएको छ । मध्यम परिवारका घाइतेका उपचारमा सहयोग पु¥याउनका लागि रकम सङ्कलन अभियानसमेत शुरु भइसकेको छ ।

उनीहरुको उपचारमा सघाउने उद्देश्यले सहयोग सङ्कलन अभियान चलाइएको पुनले जानकारी दिए । सबै घाइतेको घरपरिवारबाट खर्च पु¥याउन सम्भव नभएका कारण सहयोग अभियान शुरु गरिएको हो । पिकअप भ्यानका चालक र बीमामार्फत हुने उपचारका लागिसमेत आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि मात्रै उपचार खर्च पाउने भएकाले उनीहरुलाई उपचार खर्चमा अभाव भएको हो ।

स्थानीय जीवन पुन मगरको नेतृत्वमा शुक्रबारदेखि शुरु गरिएको सहयोग सङ्कलन अभियानमा ६० हजार रुपैयाँ सङ्कलन भएको पुनले बताए । जैमिनी–८ छिस्ती भडकुवामा रहेको अखिल नेपाल महिला सङ्घले १० हजार रुपैयाँ सहयोग गरेको छ । जैमिनी–८ छिस्तीकेवै खानीमा रहेको सनराइज युवा क्लबले ५० हजार रुपैयाँ सहयोग गर्ने बताएको छ ।

गत मङ्गलबार रापुङको भिरमा ध१ज ७९१ नंको पिकअप जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । घाइतेमध्ये चार जनाको पोखरामा र तीन जनाको बागलुङमा उपचार भइरहेको छ । दुर्घटनामा परी जैमिनी नगरपालिका–८ छिस्तीका १९ वर्षीया प्रियङ्का पुन, ३० वर्षीया तुलसी पुन श्रीस, १३ वर्षीया ज्योति पुन र १४ वर्षीया एलिना पुनको मृत्यु भएको थियो ।

दुर्घटनामा १५ वर्षीया सम्झना पुन, १६ वर्षीया विष्णु श्रीस, २९ वर्षीया धनकला श्रीस र १३ वर्षीय सङ्गम श्रीस घाइते भएका थिए । उनीहरु चारै जनाको पोखरामा उपचार भइरहेको छ ।

Loading...