काठमाडौंमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरु

काठमाडौँ, ९ फागुन । काठमाडौंमा ‘दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ शुरु भएको छ ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा भएको महोत्सवको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरे । सो अवसरमा उनले विश्वमा रहेका देशलाई एकअर्कामा आपसी एकता, सद्भाव बढाउन महोत्सवले भूमिका खेल्ने बताए ।

उनले महोत्सवले नेपालको कला, संस्कृति, सभ्यता, परम्परा र भूगोललाई विश्वसामु चिनाउन सफल हुनेमा जोड दिए । अध्यक्ष प्रचण्डले विश्वलाई चिनाउने सफल चलचित्र क्षेत्रमा राज्यको लगानी बढाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, नीर शाह, सुनिल थापा लगायतले महोत्सवले स्वदेश तथा विदेशका कला संस्कृतिबारे जानकारी गराउने बताए । प्रतिष्ठानका अध्यक्ष केपी पाठकले महोत्सवमा ३० देशका ६० ठूलासाना चलचित्र प्रदर्शन गरिने जानकारी दिए ।

उनले विभिन्न ६०० चलचित्रबाट उत्कृष्ट चलचित्रलाई प्रदर्शन गर्न थालिएको बताए । राष्ट्रियसभा गृहमा भइरहेको महोत्सव चार दिनसम्म सञ्चालन हुने छ । महोत्सवमा बङ्गलादेश, चीन, भारत, अमेरिका, जापान, सिङ्गापुर, मलेसिया, फिलिपिन्स लगायतका कला, संस्कृतिसँग जोडिएका चलचित्र प्रदर्शन गरिने छ । महोत्सवकाबेला चलचित्र निर्माण गर्ने निर्माता, निर्देशकसँग पनि अन्तक्र्रिया गरिने प्रतिष्ठानका अध्यक्ष पाठकले बताए ।

Loading...