मनाङ मर्स्याङ्दीलाई पाखा लगाउँदै च्यासल युथ क्लव सेमिफाइनलमा

रुपन्देही । मोफसलको प्रतिष्ठित क्लब मनाङ मस्र्याङ्दीलाई १–० ले पाखा लागाउँदै च्यासल युथ क्लब काठमाडौँ तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुटवलको देवीनगरस्थित एन्फा एकेडेमी टेक्निकल सेन्टरको मैदानमा आज भएको खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको शुरुआतमै च्यासलका हेमन्त थापाको पासमा अरमण्डले गरेको गोल नै निर्णायक बन्न पुग्यो । च्यासलले शनिबार नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रुपन्देही जिल्ला फुटबल सङ्घद्वारा आयोजित प्रतियोगिताको शुक्रबारको खेलमा दाफिन्स एफ सी क्यामरुन र लाली रुपन्देही भिड्नेछन् ।

प्रतियोगिताको विजेताले आठ लाख ८० हजार नगदसहित कप पाउनेछ भने उपविजेताले रु पाँच लाख ५० हजार पाउनेछ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल उपहार पाउनेछन् भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षक तथा रेफ्रीले रु २५ हजारबाट सम्मानित हुनेछन् ।

Loading...