यस वर्ष अत्यधिक हिमपात, हुम्लामा फेरि हिमपात

हुम्ला, ९ फागुन । हिमाली जिल्ला हुम्लामा आज फेरि हिमपात शुरु भएको छ । गएको कात्तिक १८ गतेबाट हिमपात हुन शुरु भएको हुम्लामा पुस महीनाको मध्यदेखि फागुनसम्म निरन्तरको हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ ।

उत्तरी नाम्खा गाउँपालिका एक महीनादेखि नमस्ते टेलिफोन सेवा अवरुद्ध भएको छ । जिल्लामा भारी हिमपातले गर्दा नाम्खा गाउँपालिकामा रहेको नमस्ते टेलिफोन टावर बिगँ्रदा एक महीनादेखि मर्मत नहुँदा टेलिफोन गर्न नपाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठले जानकारी दिनुभयो । त्यस क्षेत्रका स्थानीयले नमस्ते, स्काइ टेलिफोन सेवाले काम नगर्दा जिल्ला बाहिर रहेका आफन्तसँग सन्चो बिसन्चो सोध्नलाई समस्या बनाएको छ ।

माघ महीनामा परेको भारी हिउँ पग्लिन नपाउँदै बिहीबारबाट फेरि हिउँ पर्न थालेको छ । आज बिहान निरन्तर परेको हिउँ करीब चार इन्च जमिसकेको छ । हिमपातले चिसो बढ्दै गएको छ ।

प्रहरीको वासस्थान स¥यो

नाम्खा गाउँपालिका–६ मुचुमा रहेको प्रहरी चौकी भारी हिमपातको चिसोले तीन घण्टा पैदल हिँडेर पुग्ने स्थान तुम्कोटमा सारिएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । नेपाल प्रहरीको सञ्चारसेटबाहेक अन्य टेलिफोन सेवा बिग्रँदा समस्या बनाएको उहाँले जानकारी दिनुभयो । नाम्खा गाउँपालिकाको खबर प्रहरी सञ्चार सेटमा लिने गरेको जानकारी प्राप्त भएको छ । उत्तरी नाम्खा गाउँपालिका उच्च हिमाली गाउँपालिकामा पर्ने भएकाले हिमपातले चिसो बढाएको तीन घण्टा तल बेँसीतिर सारिएको उहाँले बताउनुभयो ।

दाउराको माग

जिल्ला सदरमुकाम सिमकोटमा यतिबेला दाउराको माग बढ्दै गएको छ । हिमाली जिल्ला हुम्लामा लगातार हिमपात हुँदा चिसो बढेसँगै दाउराको माग बढ्दै गएको छ । उत्ता हिल्दुम साना जलविद्युत् केन्द्रले विद्युत् भार कटौती समय तालिका बढाउँदै गएपछि दाउराको माग बढेको हो ।

जिल्लाका खार्पुनाथ सिमकोट गाउँपालिकाका स्थानीयले सिमकोट बजारमा ल्याएका दाउरा एक भारीको रु ५०० देखि एक हजारसम्मको मूल्य तिरेर खरीद गर्नुपरेको सिमकोटमा बस्दै आएका विनिता महताराले बताउनुभयो । लगातार हिमपात हँुदा घार बनाउन वनमा गएर दाउरा टिप्नलाई गाह्रो हुँदा महँगो मूल्यमा किन्नुपरेको उहाँले बताउनुभयो । दाउरा बिक्री गर्ने खच्चड व्यवसायीले पनि राम्रो आम्दानी गरेका छन् ।

Loading...