नारायण ढुङ्गाना

ललितपुर, ९ फागुन । खुला आकाशमा चराझैँ उड्न चाहने साहसिक खेलमा रमाउन उपत्यकावासीले अब बाहिरी जिल्ला धाउनु पर्दैन ।

हावाको बेगमा रम्दै सुन्दर हरियाली, विभिन्न हिमशृङ्खला र उपत्यका एकैसाथ हेरेर रमाउन महत्वपूर्ण गन्तव्य बन्न पुगेको छ ललितपुरको गोदावरी । उक्त अवसर छोप्दै चलचित्र अभिनेता नाजिर हुसेनले केही दिन अघि गोदावरीमा साहसिक खेल (प्याराग्लाइडिङ) को मजा लिए ।

कुनै पनि चलचित्रमा आकाशबाट अभिनय नगरेका हुसेनले वास्तविक जीवनमै पहिलोपटक उडेर अविस्मरणीय क्षण सङ्गाले । “सोच्थेँ प्लेनमा चढेजस्तै हुन्छ होला, घरहरू कार्टुनजस्तै देखिन्छ होला, तर होइन रहेछ, पहिलोपटक यति तलबाट उडेर अनुभव सङ्गाल्दा अविश्मरणीय बन्यो”, हुसेनले भन्नुभयो ।

उड्ने बेलामा केही सेकेण्ड कुद्नु पर्छ । कुद्दा अनि आकारमा अप एण्ड डाउन तथा स्वीप हुँदा अलि डरजस्तो लागे पनि त्यसको आनन्द छुट्टै रहेको भन्दै हुसेनले एक किसिमको प्यारासुटसँगको खेलको अनूभूति गराएको सुनाए । अघिल्लो हप्ता गायक सागर आलेले पनि गोदावरीको चापाखर्कमा पुगेर प्याराग्लाइडिङमा चराझैँ उडेर नयाँ अनुभव लिए । आलेले भने, “शुरुमा डर महसुस भएको थियो, जब पाइलटले ब्रिफिङमा ९९ प्रतिशत सुरक्षित हुन्छ भने, अनि उडीहालौँ झैँ लाग्यो ।”

आकासमा उड्दा उहाँले प्रेमको साम्राज्य र खाइदेउ गोरी बोलको गीतसँगै नारायणगोपाल, अरुण थापालगायत गायकका चर्चित गीतसमेत गाएर मनोरञ्जन लिए । पोखरामा प्रख्यात साहसिक पर्यटनको रुपमा चिनिने प्याराग्लाइडिङ अब उपत्यकामै पाउनु खुशीको कुरा भएको यहाँ पुग्ने पर्यटकको भनाइ छ ।

Loading...