चीन र अमेरिकाको व्यापार विवादबारे फेरि वार्ता सुरू

एजेन्सी । अमेरिका–चीनबीच देखिँदै आएको व्यापार विवादलाई अन्त्य गर्ने प्रयासस्वरूप दुई देशका अधिकारीहरूले आठ दिनपछि बिहीबारदेखि वार्ता पुनः शुरू गरेका छन् ।

विश्वका दुई अर्थतन्त्रबीच व्यापार बिषयमा देखिएको गहिरो तनावलाई समाधान गर्ने प्रयासमा भएका वार्ता सकारात्मक बन्दै गएपछि उनीहरू पुन वार्ताको टेबलमा आएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा व्यापार विवादलाई मार्च १ पहिलेसम्म समाधान गर्न आफ्नो तहबाट पहल गर्ने सहमति बनेको थियो । वार्ताले सकारात्मक दिशा नलिएमा अमेरिकाले मार्च १ देखि लागु हुनेगरी थप चिनियाँ सामानको मूल्यमा करवृद्धि गर्ने बताएको थियो ।

बिहीबार शुरू भएको वार्तामा अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइथिजरको नेतृत्वमा अमेरिकी ट्रिजरी सेक्रेटरी स्टेभेन मनुचिनसहितको प्रतिनिधिमण्डल बेइजिङमा छ भने चिनियाँ उपप्रधानमन्त्री तथा राष्ट्रपति सीका विशेष प्रतिनिधि लिउ हेसहितको टोलीले चीनको प्रतिनिधित्व गरेको छ ।

उनीहरूबीच यस पहिले विभिन्न छ चरणमा छलफल भैसकेको छ ।

Loading...