अभिभावकलाई प्रश्न: कस्तो समाज बनाउँदैछौं हामी ?

परिदृश्य एक

लेखक

बानेश्वरस्थित एउटा बैङ्केटमा आयोजित विवाह भोजमा सहभागी हुन एक दम्पती आफ्नो कक्षा ४ मा अध्ययन गर्ने छोरासहित पुग्दछन् । पृष्ठभूमिमा बजिरहेको छ लैजाउ न मलाई घुमाउन ठमेल बजार बोलको कथित सुपरहिट गीत । पुग्नासाथ पार्टीको रामरमाइलोमा आफूलाई घुलमिल गराउँछन् । बालकको पिता आफ्ना पुरुष सहकर्मीहरु मदिरामस्तीमा डुब्छन । माता चाहिँ आफ्ना महिला संगीहरु फोटोसेसनमा व्यस्त हुँदै नाचगानमा हराउँछिन् । अपरिचित महोलमा एक्लो भएको बालक आफ्नो पितासँग मोबाइल मागेर केही क्षण गेम खेल्दछ र त्यसपछि वाक्क भएर भित्तामा टाँसिएको वाइफाइ पासर्वर्ड कनेक्ट गरेर क्रमशः कार्टुन, गीत हुँदै एकपछि अर्को इन्टरनेट समाग्रीमा भुलेर घण्टौं समयलाई केही क्षणझैं बिताइदिन्छ । उता मातापिता भने आफ्नो छोरालाई मोबाइल भएपछि कोही चाहिदैन भन्दै अहिलेको पुस्ता केटाकेटीदेखि फरवार्ड छन भनेर गल्ल हाँसो साटासाट गर्छन् र पार्टी अवधिभर यो वा त्यो प्रश्न सोधेर दिक्क नलगाएकोमा दङ्ग पर्दछन्।

परिदृश्य दुई

राजधानीको आधुनिक घरको एउटा कोठा । भित्ताको घडीमा रातको ९ बजेको छ । राजधानीको महङ्गो र प्रतिष्ठित विद्यालयमा पढ्ने एक बालिका आफ्नी ममीलाई कथा सुनाउन जोड गर्छिन् । मोबाइलमा फिल्मको क्लाइमेक्समा मदमस्त ममी त्यही फिल्म हेर्न आग्रह गर्छिन् । एकछिन हेरेजस्तो गरे पनि आफ्नो रुचिलाई आकर्षित नगरेपछि हातले तान्दै फेरि कथा सुनाउन जिद्दी गर्छिन् । छोरीले मान्दै नमानेपछि ममीले झर्किदै जा तेरो ड्याडीलाई मलाई आउदैन कथासथा । ममीले पन्छाएपछि छोरी लागिन् ड्याडीतिर । उता सरकारी अधिकृत ड्याडी मेसेन्जरमा च्याटमा व्यस्त छन् । छोरीले ड्याडीलाई भन्छिन् ‘ड्याडी मलाई एउटा कथा सुनाउ न प्लिज । मेरो साथीलाई त उसको बाबाले सधैं एउटा सुनाउनुहुन्छ रे । बाबू जवाफ फर्काए ‘छोरी डिस्टर्ब नगर न एक छिन, यहाँ इम्पोर्टेन्ट कुरा भइरहेको छ । अब छोरीलाई के थाहा कति कुन स्तरको इम्पोर्टेन्ट कुरा रुपटकपटक जिद्दी गरेर रुन थालेपछि ममीले अझ गाली गर्दैन ल्यापटप निकालेर कार्टुन ललगाइदिन्छन्, छोरी कार्टुनका पात्रहरुमा हराएपछि चैन महसुस गरेर आफ्नो फिल्ममोहलाई निरन्तरता दिन्छिन् । अब तीनै जना आआफ्नो भर्चुअल दुनियाँमा व्यस्त हुन्छन् । छोरीका आँखा कार्टुन हेर्दाहेर्दै थाकेर निदाउँछन् तर उता मुभी र च्याटको शृङ्खला समाप्त भएको नै हुँदैन ।

परिदृश्य तीन

राजधानीको एउटा प्रतिष्ठित विद्यालयको प्रिन्सिपल कक्ष । उनको अगाडि अभियुक्तको रुपमा उभ्याइएको छ कक्षा आठमा अध्ययनरत एक छात्र र उसको अपराध हो कक्षाकोठामा मोबाइल ल्याउनु र साथीहरुसँग मिलेर भिडियो हेर्नू । प्रिन्सिपलले उनलाई कक्षाकोठामा मोबाइल ल्याएबापत हत्केलामा छडीले आधा दर्जनजति प्रहार गरे अनि मोबाइल जफत भएको निर्णय सुनाए र भोलि अभिभावक लिएर हाजिर हुन आदेश दिए । प्रिन्सिपलको खप्की र दनक खाएको बालक अब घरको रामधुलाइ सम्झेर अक्कनबक्क भएकोछ ।

परिदृश्य चार

रातको १२ बजिसकेकोछ । एउटा कोठामा मातापिता घुर्दै सपनाको संसारमा डुल्दैछन् । उता अर्को कोठामा कक्षा ९ अध्ययनरत छोरी मेसेन्जरमा यसरी डुबिरहेकी छिन् कि उनलाई समय कहाँ पुगिसक्यो भन्नेबारे सरोकार नै छैन । उनी आफ्नो बोइफ्रेन्डसँग डेटिङको सेटिङ मिलाउँदैछिन् । दोश्रो त्रैमासिक परीक्षा नजिकिदैछ तर उनलाई त्यसबारे कुनै चिन्ता र चासो छैन ।

अब माथिका सबै घटना प्रसंगहरु काल्पनिक नभएर अहिलेको नेपाली समाजको ‘घरघरकी कहानी’ बनेका प्रतिनिधि कटु यथार्थ हुन् । यिनै घटनाहरुले हाम्रो समाज कतातिर उन्मुख हुँदैछ भनेर प्रतिबिम्बित गर्छन् । किनकि समाज भनेको आलिशान घर, पक्की सडक, विज्ञान प्रविधिले सम्पन्न सुविधाहरुको कोरा सङ्ग्रह मात्रै नभएर गतिशील मानिसका अनेकन विचार र व्यवहारको संयोजन हो । माथिको उदाहरणमा देखाइएका बालबालिकाहरु आधुनिक ग्याजेट्सको दुर्व्यसनमा फस्नु झट्ट हेर्दा उनीहरुको व्यक्तिगत कमजोरीजस्तो देखिए पनि उनीहरु त्यसखाले आचार, मनोविज्ञान र आदत निर्माणमा प्रत्यक्ष परोक्षरुपमा अभिभावकहरुको सचेत भूमिकाको अभाव प्रष्ट छ । केटाकेटीको मस्तिष्क काँचो माटोजस्तो हुन्छ जस्तो बनायो वा जस्तो वातावरण दियो उस्तै हुन्छ भनेर पटकपटक पढेका हुन्छन् र ठाउँमा विद्वान पल्टिन पटकपटक दोहोर्याउँछन् पनि अभिभावकहरु तर जीवनशैलीमा लागू गर्न भने बारम्बार चिप्लिन्छन् । फेरि आफूले आफ्ना सन्तानको आदत, चरित्र र संस्कार निर्माणमा सकारात्मक भूमिका खेल्न असफल भएवापत छोराछोरीमा देखिएको कुलतको जवाफदेहीता बहन गर्नुको साटो उल्टै सन्तानमाथि गालीगलौज र दोष थोपर्छन् ।

हामी कस्तो समाज बनाउँदैछौ भन्ने कुरा कस्तो व्यक्ति निर्माण गर्दैछौं भन्ने कुराले निर्धारण गर्दछ । अहिलेको युग विज्ञान र प्रविधिको युग र मानिस यसले प्रदान गरेका सुविधाप्रति यान्त्रिक रुपले अम्मली भइसकेको छ । विज्ञान सभ्यतालाई समृद्ध तुल्याउन धेरै हिसाबले वरदान साबित भए पनि कतिपय संवेदनशील मुद्दाहरुमा यो अभिसाप सिद्ध भएको छ । जस्तो कि अहिलेका बालबालिकाहरुमा विशेषतस् मोबाइल र ल्यापटपको प्रयोगमा देखिएको अति मोह र आशक्ति बडो हानिकारक देखिन्छ । कतिपय बालबालिकाले सानो उमेरमै आँखामा पावरदार चश्मा भिर्नुपर्ने बाध्यता पनि यसको एउटा डरलाग्दो संकेत हो ।

धेरैजसो मातापिताहरु आफ्ना सन्तानले सानो उमेरमै मोबाइलको यूट्यूव लगायत अन्य एप्स तथा ल्यापटप अन गरेर विभिन्न फोल्डर खोलेको देखेर बडो टाठो बुद्धिको भएको भन्दै मख्ख पर्दै सुनाउने गर्दछन् । आफूले उक्त उमेरमा ल्यापटप र मोबाइलजस्ता साधन चलाउन नपाएकोले पनि आफ्ना सन्तानले मज्जाले चलाउन सिक्दै गरेकोमा पनि प्रसन्न हुन्छन् तर त्यसको दीर्घकालीन नकारात्मक असरबारे भनेर बेखबर मात्रै होइन लापरबाह नै रहन्छन् । कतिपय मातापिता त आफ्नो व्यस्ततामा छोराछोरीको अवरोध नहोस् भनेर अथवा निर्दोषितावस सोधिने प्रश्नहरुको झिंजोबाट उम्किने उपायको रुपमा मोबाइल र ल्यापटपजस्ता साधनहरु कलिला बच्चाबच्चीलाई थमाइदिन्छन् । तर आफूले थाहा नपाउने गरी नै आफ्ना छोराछोरी क्रमशः बदलिएको र आफूबाट टाढा भएको पत्तो पाउँदैनन् । बिस्तारै केटाकेटी इन्टरनेटको घना जङ्गलमा यसरी हराउँदै जान्छन् कि उनीहरु आफनो मातापिताको साथ र समय खोज्न छाडेर मोबाइलको भर्चुअल संसारमै भुल्न रुचाउँछन् । उता बाआमा केटाकेटीले कचकच नगरेको ठानेर सन्तान ज्ञानी भएको भ्रममा पर्दछन् । तर साना केटाकेटीको कलिलो मस्तिष्क अनेक कार्टुन, गीत, मुभी र यूट्यूवमा राखिएका कुडाकुर्कट सामाग्रीहरुको कुलतमा फसिसकेको हुन्छ जसको महङ्गो मूल्य मातापिता र सन्तान मिलेर संयुक्तरूपमा भुक्तान गर्नुपर्ने हुन्छ ।

अधिकांश मातापिता आफ्ना सन्तानको भौतिक रुचि पूरा गरिदिनु र भनेजस्तो पुर्याइदिनुमा सन्तानप्रतिको जिम्मेवारी निर्वाह भएको अर्थमा बुझ्दछन् । तर कुनै पनि मातापिताले आफ्नो सन्तानलाई दिने सबैभन्दा ठूलो उपहार भनेको उनीहरुका सरसंगत र देखासिकीले जन्माएका महङ्गा रुचीका सरसामाग्री नभएर सबल र स्वस्थ मनोविज्ञान निर्माण गर्न सघाउने सुसंस्कृत संस्कार नै हो । आफ्ना प्राणप्रिय सन्तानलाई इन्टरनेटका अपरिचित यन्त्रवत् सामाग्री र तालिमप्राप्त राेबोटजस्ता लाग्ने मानिसको जिम्मा लगाउनु भन्दा आफ्नो सम्पूर्ण उपस्थितिसहितको अमूल्य समयले उनीहरुलाई जीवन्त र हराभरा बन्न अभिप्रेरित गर्दछ । यो सामान्यजस्तो देखिने तर गम्भीर तथ्यबारे अहिलेको आधुनिक भनिएको समाजका सुपठित र सुशिक्षित दावी गर्ने मातापिताहरुको ठूलो वृत्त नै होशशून्य रहेको देख्दा दिग्दार लाग्दछ । पश्चिमा जगत् मातापिता र सन्तानबीच प्रविधिको विसंगत प्रयोगले निम्त्याएको भावनात्मक र संवेदनागत दूरी, विरानोपन र फगत डिएनए कोडिङमा सीमित सम्बन्धले आक्रान्त छन् र त्यही रोग अहिले पूर्वीय जगतमा अर्बुदलेझैं भयावह स्वरुपमा जरा गाड्दैछ ।

हिजोआजका करिवकरिव सबै स्कुले बालबालिकाहरुले फेसबुक अकाउन्ट् खोलेका हुन्छन् । कतिपयका त मातापिता आफैले खोलिदिएका हुन्छन् । सानो उमेरदेखि नै फेसबुकसँग संगत गर्न थालेका बालबालिकाहरु हुर्कदै जानेक्रममा यसको घोर कुलतको सिकार हुनपुग्छन् । यसो भनेर फेसबुकको प्रयोग र प्रविधिसँगको सहकार्यलाई गलत भन्न खोजिएको होइन । कुनै पनि वस्तु आफैमा खराब हुँदैन तर त्यसको प्रयोग कसरी गरिन्छ भन्ने कुरामा त्यसको असर निर्भर रहन्छ ।

अभिभावकहरुले बालबालिकामा चेतनाको हुने क्रमसँगै हरेक चीजको सकारात्मक, समूचित र सिर्जनात्मक प्रयोगबारे मागर्निर्देश गर्नुपर्दछ । त्यसमाथि प्रविधिको दुरुपयोगको दुष्परिणाम सर्वत्र देखिदै गएको सन्दर्भमा यसलाई आफ्नो विवेक र मस्तिष्कको सन्तुलित विकासको निम्ति प्रयोग गर्ने कला बारे आफ्नै निरन्तरको निगरानीमा सिकाउनुपर्दछ । प्रविधिको व्यवहारिक र रचनात्मक प्रयोग समग्र व्यक्तित्व विकासको खुराक बन्न सक्दछ तर त्यसको सदुपयोग गर्न नजान्दा विकार र विसंगतिको कारक बन्नसक्दछ । यसले बालबालिकामा आँखाको समस्या, अध्ययनमा वितृष्णा, सिर्जनशीलता ह्रास तथा अनेक मानिसक उतारचढावहरु जस्ता रोगहरु देखापर्दछन । बालबालिकाहरुलाई कलिलो उमेरमै प्रविधिको दास बनाउने मात्र नभइ अनेकन समस्याहरुको जञ्जालमा जेलिन बाध्य बनाउँछ।

तसर्थ आफ्नो सन्तानलाई सर्वस्व भन्ने र आफ्ना सबै कर्म सन्तानको उज्ज्वल भविष्यको लागि समर्पित छ भनेर दावी गर्ने प्रत्येक मातापिताले समय घर्किनु र सुधारको सम्भावना नरहनेगरि पछुताउनुपूर्व कतै आफूले सन्तानलाई सुविधा दिने नाउँमा जानअन्जान उनीहरुको सिर्जशीलतामाथि खेलबाड गरिरहेको त छैन, कतै उनीहरुको बालसुलभ जिज्ञासुभावसहितको चकचकबाट बच्ने निहुँमा मोबाइल र ल्यापटपको यान्त्रिक दास बनाएर आफैबाट टाढा हुत्याइरहेका तढ छैनौं भनेर स्वयंलाई प्रश्न गर्न ढिला भइसकेको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा के मनन गर्न जरुरी छ भने हाम्रो व्यवहार नै शिक्षाको पहिलो आधार हो र हामीले हाम्रो सन्तानलाई कस्तो संस्कारले दीक्षित गर्दैछौं भन्ने कुराले कस्तो समाज निर्माणको जग हाल्दैछौं भन्ने तय हुन्छ । नभए खाली समाज यान्त्रिक, संवेदनहीन र भ्रष्ट भयो भनेर कोकोहोलो गर्नु निरर्थक मात्रै होइन नाजायज पनि छ । समाजको एउटा बालक वा बालिका कुलतमा फस्नु र उसको भविष्य अन्धकारमय हुनु फगत एक व्यक्तिको जिन्दगी बर्बाद हुन मात्रै होइन, सिङ्गो स्वस्थ र समृद्ध समाज निर्माणको मार्गमा पहिरो जानू हो र समस्त मानव सभ्यता पक्षघातग्रस्तताको प्रस्थानविन्दु हो भनेर बुझ्न ढिलाइ गर्नुहुँदैन ।

Loading...