एनालग टेलिभिजनका उपकरण जफत गर्न सरकारको निर्देशन

काठमाडौं, ६ फागुन । सरकारले १५ दिनभित्र एनालग टेलिभिजनहरु बन्द नगरे कारवाही गर्ने चेतावनी दिएको छ । सरकारले देशभर गत बैशाख १५ भित्रै एनालग टेलिभिजन सेवा पूर्णरुपमा बन्द गर्न निर्देशन दिएको थियो । उक्त आदेश विपरित अहिले पनि सेवा सूचारु भइरहेको कुरा आएपछि अब निर्देश अटेर गर्ने केवल टेलिभिजन कम्पनीहरुका उपकरण जफत गर्न समेत आदेश दिएको छ ।

डिजिटल प्रविधिमा जान एनालग केवल टेलिभिजन बन्द गर्ने नीति सरकारले लिएको छ । सरकारले सोमबार सार्वजनिक सूचना जारी गरी अहिले पनि एनालग टेलिभिजन सेवा सञ्चालनमा रहेको भेटिए जानकारी दिन आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली, २०५२ अनुसार चरणवद्धरुपमा विभिन्न महानगरपालिकामा एनालग टेलिभिजन सेवा बन्द गर्न निर्देशन दिएको हो ।

पहिलो चरणमा काठमाडौं, विराटनगर, वीरगञ्ज, ललितपुर र पोखरा महानगरपालिकामा एनालग टेलिभिजन सेवा बन्द गराइएको थियो । दोस्रो चरणमा अन्य महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका क्षेत्रमा बन्द गराएको मन्त्रालयले गत बैशाख १५ मुलुकभर नै एनालग टीभी बन्द गर्न भनेको थियो ।

सबै टेलिभिजन सेवा प्रदायकले अनिवार्यरुपमा डिजिटाइजेशनमा जान अनुमति लिएर अपग्रेड हुनैपर्ने मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए । उनले सबै क्षेत्रमा अनुगमन भइरहेको र निर्देशन नमानेको पाइए कारवाही गर्ने चेतावनी दिए । एनागल टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएको तर्क सरकारको छ । तर, खर्च बढाएको भन्दै अधिकांश उपभोक्ता नै सन्तुष्ट छैनन् ।

यो व्यवस्थाअनुसार हरेक टेलिभिजनका लागि १५ सयदेखि ४५ सयसम्म मूल्यका छुट्टै सेट टप बक्स लगाउनुपर्छ । तर, प्रत्येक सेट टप बक्सको सेवा शुल्क फरक–फरक रुपमा भुक्तानी गर्नुपर्छ । यो सेट–टप बक्स टीभीमा केबल जोड्नु अघिको प्वाइन्टमा जोडिन्छ ।

यसका लागि केबल टीभी अपरेटरले भने आफ्नो हेड–इन (कन्ट्रोल रुम) मा पनि सबै उपकरण डिजिटलाइज्ड गर्नुपर्छ । यो प्रणालीअनुसार ग्राहकले घरमा जतिवटा टीभी छन्, त्यति नै वटा सेट–टप बक्स जोड्नुपर्छ । अब हरेक टेलिभिजनमा सेट टप बक्स राखेर सेवा लिएबापत अपरेटरलाई छुटटै शुल्क तिर्नुपर्छ ।

महंगो परे पनि ग्राहकले भने गुणस्तरीय टेलिभिजन सेवा भने पाउने भनाइ सरकारको छ । टेलिभिजन डिजिटलाइज्ड गर्न स्याटलाइट प्रविधिमा आधारित डीटीएच पनि प्रयोग गर्न सकिन्छ । अहिले नेपालमा डिसहोम र नेपाल डिजिटल केबलले यो सेवा दिइरहेका छन् ।

यस्तै इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपीटिभी) का माध्यमबाट पनि डिजिटल टेलिभिजन हेर्न सकिने छ । यो इन्टरनेटमा आधारित टेलिभिजन सेवा हो । डिजिटल टेरेस्टोरियल टेलिभिजन (डीटीटी) प्रविधिमा पनि डिजिटल टेलिभिजन हेर्न सकिन्छ । एन्टेना प्रविधिबाट टीभी हेर्ने डिजिटल रुपको यो सेवाका लागि अनुमति लिए पनि नेपालमा सुरुवात हुन भने बाँकी छ ।

अहिले केबल अपरेटरहरूले ग्राहक संख्या न्यून देखाएर भ्याट बिल जारी नगर्ने समस्या छ । भारतीय डीटीएचबाट गैरकानुनी रुपमा सिग्नल लिएर वितरण गर्ने परम्परा तोड्न पनि अबको ब्यवस्था प्रभावकारी हुनेछ ।

अब सबै अपरेटरको सेवाग्राहीको विवरण लुकाउनै नमिल्ने भएकाले केबल टेलिभिजनमार्फत ग्राहक ठग्ने र राज्यलाई कुनै राजश्व योगदान नगर्नेहरु नियममा बाध्यकारी रुपमा आउने अपेक्षा सराकारको छ ।

नेपालमा झण्डै ५० लाख टेलिभिजन सेट सञ्चालनमा रहेको अनुमान छ । तर, त्यसअनुरुप सरकारलाई केबल अपरेटरहरुले राजश्व भरेका छैनन् । एनागल बन्द भएर डिजिटाइजेशन भएपछि वास्तविक रुपमा कति टेलिभिजन चलिरहेका छन् भन्ने तथ्यांक पनि सरकारसँग आउनेछ ।

Loading...