पशुपतिको गीतमा प्रतिबन्ध लगाउनु संविधानकै विरोध

काठमाडौं, ५ फागुन । व्यङग्यात्मक गीतमा चर्चा कमाएका चर्चित गायक पशुपति शर्माको गीतमाथि प्रतिबन्ध लगाइएपछि त्यसको चौतर्फी विरोध भएको छ ।

नेपालमा भ्रष्टाचार मौलाएको र शक्तिमा हुनेहरुले आफ्नो मनपरी गरिरहेको भन्ने सन्देश दिने व्यङग्यात्मक गीतलाई सरकारले उनको यूट्यूबबाट डिलिट गर्न लगाएपछि यस्तो विरोध सुरु भएको हो । यसैक्रममा शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ बोलको गीतलाई युट्युबबाट हटाउन लगाउनु लोकतन्त्रमाथिकै प्रहार भएको भन्दै विवेकशील साझा पार्टीले विरोध जनाएको छ ।

सो पार्टीका प्रवक्ता मिलन पाण्डेले आइतवार एक प्रेस वक्तब्य जारी गर्दै सत्तासीन दलका नेता कार्यकर्ताको दबाबमा शर्मालाई उक्त गीत युट्युबबाट हटाउन लगाइएको बताएका छन् । युट्युबबाट हटाइएको शर्माको गीतलाई सार्वजनिकरूपमा बजाएर, सामाजिक सञ्जालमा राखेर लोकतन्त्रप्रति भएको प्रहारको विरोध गर्नसमेत विवेकशीलले सर्वधारणलाई अपिल गरेको छ।

“हामी आफू असहमत रहेका विचारको अभिव्यक्तिलाई समेत निर्बाध रूपमा व्यक्त गर्न सक्ने वातावरणको सुनिश्चितता गर्नसमेत आह्वान गर्दछौ ।” विज्ञप्तिमा भनिएको छ । यसले संविधानले दिएको अभिव्यक्तिको स्वतन्त्रता समेत हनन भएको विज्ञप्तीमा भनिएको छ ।

“पार्टी अभिव्यक्ति स्वतन्त्रतामा विश्वास गर्दछ। लोकतन्त्रको सुन्दरता नै यही हो ।” विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधान, २०७२ को धारा १७ ले समेत विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ।”

संविधानले दिएको अधिकारभित्र बसेर गरिने अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नु आफूहरुको जिम्मेवारी रहेको भन्दै विज्ञप्तिमा भनिएको छ, “झन्, आफ्नो अनुकूलता हेरी यस्ता घटनामा दिइने दबाबका कारण राष्ट्रको प्रतिभाप्रति पर्ने मनोवैज्ञानिक असरबारे ध्यान दिन सरकारलाई आग्रह गर्दछौँ ।”

यस घटनाले एक गम्भीर प्रवृत्तिको उजागर गरेको भन्दै विवेकशीलले संविधानमा सुनिश्चित भएका नागरिक हकलाई सरकार कुल्चन तम्तयार देखिएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, “शान्ति सुरक्षा विधेयक, सामाजिक सञ्जालको सञ्चालन सम्बन्धी नीति तथा अन्य नीति तथा विधेयकहरू यही मनसायले नै ल्याइएको प्रस्टैसँग देखिन्छ । गायक शर्माको गीतलाई हटाउन दबाब दिने काम त्यही श्रृंखलाको अर्को कडी हो भन्ने हाम्रो बुझाइ रहेको छ।”

Loading...