बाँदर आतंक अचाक्ली भएपछि भारतबाट झिकाइए बाँदर समात्ने शिकारी

खोटाङ । नेपालीको एक पूर्वी पहाडी जिल्लामा बाँदर आतंक अचाक्ली भएपछि बाँदर समात्न माहिर मानिने भारतका शिकारी बोलाइएका छन् ।

पूर्वी पहाडी जिल्ला खोटाङमा बाँदर आतंक अत्यधिक भएको र धेरै प्रयत्न गर्दा पनि नसकिएपछि भारतबाट शिकारी मगाइएका हुन् । बाँदर समात्न भारतको उत्तरप्रदेशबाट झिकाइएका शिकारी खोटाङ आइपुगेका छन् ।

खोटाङ आइपुगेका शिकारीलाई जिल्लामा भव्य स्वागत गरिएको छ । स्थानीयले अब आफ्नो अन्नबाली सखाप पारेर हैरान पार्ने बाँदर नियन्त्रणमा आउने आशा गरेका छन् । बाँदर समात्न भारतको खुसीनगरबाट आएका नौ सिकारीलाई शुक्रबार सदरमुकाम दिक्तेलमा सम्मान गरिएको हो।

खेतबारीका बालीनाली नष्ट पारेर किसानलाई दुःख दिने बाँदरलाई खोर तथा जालमा पारी समातेर निकुञ्जमा पुर्‍याउन बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिको पहलमा भारतीय सिकारी खोटाङ झिकाइएको हो।

गत माघ २१ गते नै आइपुगेका दुई भारतीय सिकारीले शुक्रबार आफ्ना थप सात सदस्य झिकाएको समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए। उनीहरूलाई बाँदर समातेबापत पारिश्रमिकको व्यवस्था गरिएको उनले बताए ।

Loading...