आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड, ४ फागुन । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।

दुई छोराछोरी र आफूले नियमित रूपमा आयुर्वेदिक औषधि सेवन गरेपछि मेडिकल अस्पतालका औषधि प्रयोग गर्नै छाडेको उनले बताए । छोरालाई आङको रोगले सताएपछि आयुर्वेदिक औषधि नियमित सेवनले रोग निको भएपछि यसमै विश्वास गर्न थालेको पङ्गेनीले बताए ।

“आधुनिक अस्पताल, मेडिकलको औषधि कति गरँे तर निको नै भएन, पैसा पनि धेरै खर्च भयो, कहाँ लैजाने होला भन्ने भयो, एक पटक आयुर्वेदिक औषधि गरौँ भनेर शुरु गरेको ठिक भयो”, पङ्गेनीले भने ।

शान्ति भण्डारीले अन्य औषधिको सट्टा अहिले नियमित आयुर्वेदिक औषधि नै सेवन गर्छन । “घरायसी आयुर्वेदिक औषधि सेवन गर्न थालेपछि स्वास्थ्य पनि ठिक हँुदै गएको छ, मेडिकल धाउन छाडे”, उनले भने । सोही ठाउँ बस्ने ६८ वर्षीय वृद्ध रीतुनाथ गौतमले घरायसी जडीबुटीको प्रयोगबाट आयुर्वेदिक औषधि बनाउन थालेपछि औषधि खरीद गर्न सहज भएको छ । उनको घरमा यतिबेला आयुर्वेदिक औषधि किन्ने ग्राहकको घुइँचो छ ।

एक सय ८० प्रकारका जडीबुटी सङ्कलन गरी गौतमले आयुर्वेदिक औषधि बनाउँछन । पाखनबेद, तुलसी, बेल, यार्सागुम्बा, टिमुर, ज्वानो, लसुन, हर्रोबर्रो, अमला, सिलाजितलगायतका घरायसी जडीबुटीबाट उनले आयुर्वेदिक औषधि बनाउँछन ।

गौतमको घरमा दैनिक २० भन्दा बढी ग्राहकले नियमित औषधि सेवन गरिरहेका छन् । आयुर्वेदिक औषधि बिक्रीबाट वर्षमा रु एक लाख ५० हजारभन्दा बढी कमाइ हुने उनले बताए । तराई, हिमाली र पहाडी क्षेत्रबाट सङ्कलित जडीबुटीबाट औषधि बनाउने गरिएको छ ।

गानोगोला, ग्यास्ष्ट्रिक, महीनावारी अनियमितता, बच्चा नपाउने समस्याका बिरामीले आयुर्वेदिक औषधि खोजीखोजी लैजाने गर्छन् । गौतमले आफैँले ओखलमा कुटेर औषधि बनाउँछन । “औषधि बनाउन थालेको १८ वर्षभन्दा बढी भयो, ग्राहक आइरहेका छन्, व्यावसायिक रूपमा नै औषधि उत्पादन गरिरहेको छु” उनले भने । घरको आँगनमा दिनभर बसेर औषधि बनाउने र बिक्री गर्दा समय गएको पत्तो हुँदैन ।

“अहिले त गाउँघरमा मात्र नभई, विदेशतिरबाट पनि माग आउन थालेको छ, आयुर्वेदिक औषधिले शरीरलाई ठिक गर्ने हुँदा पनि सबैले चासो दिँदै खरीद गरेर लैजाने गरेका छन्, औषधि बनाउन भ्याइनभ्याइ छ”, उनले भने ।

भारत, दुवई, साउदी अरब, कतारलगायतका विभिन्न स्थानमा खरीद गरेर नेपालीले औषधि लालैजाने गरेका गौतमले सुनाए । निरोगी व्यक्तिले पनि आयुर्वेद औषधि नियमित सेवन गर्ने गरेको पाइन्छ ।

Loading...