काव्य स्कूलले विश्व शारीरिक सुगठनमा स्वर्णपदक जित्ने महर्जनलाई गर्यो सम्मान

काठमाडौं, ३ फागुन । काव्य स्कूलले विश्व शारीरिक सुगठनमा स्वर्णपदक जित्ने नेपालका खेलाडी महेश्वर महर्जनलाई यस वर्षको काव्य खेल सम्मान २०७५ द्वारा सम्मान गरेको छ । गत वर्षझै यसपटक पनि काव्य स्कूलले खेल क्षेत्रमा सफल एकजना खेलाडीलाई सम्मान गरेको हो ।

महर्जनले गत पुसमा थाइल्याण्डमा आयोजित १० औं विश्व शारिरीक सुगठन च्याम्पियनशिपमा स्वर्ण पदक जितेर इतिहास रचेका थिए । काव्य स्कूलले नगद पाँच हजारका साथै सम्मान पत्र प्रदान गरेको हो ।

महर्जनले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले शारीरिक सुगठन प्रतियोगितामा पहिलोपल्ट ७५ केजी तौल समूहमा स्वर्णपदक जितेको थियो । जाउलाखेलस्थित खेलमैदानमा आयोजित नवौं काव्य खेल सप्ताह समापनको अवसरमा शुक्रबार काव्य स्कूलले स्वर्णपदक विजेता महर्जनलाई नगद ५ हजारसहित “काव्य खेल सम्मान” बाट सम्मान गरेको हो ।

 

काव्य स्कूलका संस्थापक प्रिन्सिपल नवराज बास्कोटा, निर्देशकहरु रिजन खड्का, सुनिलकुमार घर्ती र प्रेमराज अर्यालले पुष्पगुच्छा, खादा, प्रशंसापत्र तथा नगद दिएर सम्मान गरे । काव्य स्कूलले २ वर्षअघि नेपाली क्रिकेट टोलीका कप्तान पारस खडकालाई पनि “काव्य खेल सम्मान” प्रदान गरेको थियो ।

नवौं काव्य खेल सप्ताह समापनको अवसरमा स्वर्ण विजेता महर्जनको सम्मानमा काव्य स्कूलका विद्यार्थीहरु कोशिश, सुमन, म्याक्स, धिरेन्द्र, प्रशन्न, निश्चल, दिक्षान्त, जोनिश तथा कुशलले शारीरिक सुगठन प्रस्तुत गरेका थिए । यसैगरी विद्यार्थीहरुले तेक्वान्दो, उसु, मार्चपास, नृत्यलगायत विविध खेलकूद प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले काव्य स्कूलले खेलकूद र शिक्षालाई सँगसँगै अगाडि बढाइरहेको उल्लेख गर्दै ६ वर्षभन्दा साना बालबालिकालाई पढाई होइन शारीरिक तथा बौद्धिक विकासको लागि खेलकूदमा सहभागी गराउनुुपर्नेमा जोड दिए । नवौं काव्य खेल सप्ताहमा तेक्वान्दो, उसु, फुटसल, फुटबल, भलिवल, विभिन्न दुरीको रिले दौडलगायत दुईदर्जन थरी खेलकूदहरु समावेश गरिएको थियो ।

Loading...