नेपालमा पहिलोपटक महिला च्याम्पियन्स लिग क्रिकेट हुने

काठमाडौ । नेपालमा पहिलोपटक महिलाको क्रिकेट लिग आयोजना हुने भएको छ । आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले आज पत्रकार सम्मेलन गर्दै पहिलो पटक नेपालमा महिलाको क्रिकेट लिग आयोजना गर्न लागेको जानकारी गराएको छ ।

प्रतियोगिता आगामी चैत २२ देखि ३० गतेसम्म काठमाडौँको कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने आयोजक संस्थाका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिनुभयो । प्रतियोगितामा पाँच शहरका पाँच टोलीको सहभागिता रहनेछ । “पहिलो सिजन पाँच शहरका पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन्, यसमा पुरुषकै जस्तो महिला खेलाडीका लागि पनि व्यावसायिक बनाउने प्रयास रहने छ”, लामाले भने ।

प्रतियोगिताको पुरस्कार राशि र सहभागी टोलीबारे छलफल भइरहेको केही समयपछि जानकारी दिने उहाँको भनाइ थियो । प्रतियोगितामा विदेशी खेलाडी नहुने र खेलाडी छनोट लिलाम बढाबढ (अक्सन)बाट गर्ने वा नगर्ने भन्ने जानकारीसमेत केही दिनमै सार्वजनिक गर्ने तयारी छ ।

कार्यक्रममा राष्ट्रिय पुरुष टोलीका प्रशिक्षक जगत टमाटाले प्रतियोगिताले महिला टोलीमा राम्रो सन्देश प्रवाह हुने बताए ।

राष्ट्रिय महिला क्रिकेट टोलीका प्रशिक्षक विनोद दासले यस्ता प्रतियोगिताले महिला खेलाडीले ठूलो फड्को मार्न सक्ने बताए ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले महिलाका लागि यो ठूलो अवसर भएको उल्लेख गरे । महिला टोलीका कप्तान रुविना क्षेत्रीले लिगका लागि उत्साहित भएको प्रतिक्रिया दिए ।

प्रतियोगिताको शहर, टोली र खेल तालिकासहित पुरस्कार रकम भने केही समयपछि सार्वजनिक गरिने लामाको भनाइ छ । यसअघि क्विन्स इभेन्ट म्यानेजमेन्टलले पोखरा प्रिमियर लिग (पिपिएल) सफलतापूर्वक आयोजना गरिसकेको छ ।

Loading...