नमूना बन्दै शान्ति शिक्षा मन्दिर, विद्यार्थीलाई शैक्षिक सामग्री, पोशाक र दिवा खाजा निःशुल्क

काठमाडौ । राजधानीको ठहिटीमा रहेको सामुदायिक विद्यालय शान्ति शिक्षा मन्दिरले विद्यालयको शैक्षिक र भौतिक पूर्वाधारमा ठूलो फड्को मार्न लागेको छ । आइतबार सरस्वति पुजाका अवसरमा विद्यालयमा एक विशेष समारोहको आयोजना गरी विद्यालयले शैक्षिक र भौतिक पूर्वाधार विकासमा गर्न लागेका विभिन्न सुधारका कार्यक्रमहरुको जानकारी गराएको हो ।

देशभरको सामुदायिक विद्यालयको पठनपाठन कमजोर बनिरहेको बेला राजधानीको मुटुमै रहेको यो विद्यालय पनि केहीसमय अघि बन्द हुने अवस्थामा पुगेको थियो । २०७२ सालको भुकम्पले त झन यो विद्यालय कमजोर बनेको थियो । नत विद्यालयको भौतिक सामाग्रीहरु, नत पठनपाठनको राम्रो वातावरण केहीले यो विद्यालयलाई अरु विद्यालयसँग मर्ज गर्नुपर्ने चर्चा गर्न थालेका थिए ।

तर, अहिले विद्यालयको मुहार फेरिन थालेको छ । सरस्वति पुजाका अवसरमा काठमाडौ जिल्ला शिक्षा विकास तथा समन्वय प्रमुख नन्दलाल पौडेलले पछिल्लो समय विद्यालयले गरेको सुधारले आफूलाई ठूलो आशा जागेको बताए । केही समय पहिले आउँदा विद्यालयमा विद्यार्थीका पोशाक, विद्यालयको सरसफाईसँगै विद्यार्थीहरुले राष्ट्रिय गानसमेत राम्रोसँग गाउन नसकेको प्रसङ्ग निकाल्दै पौडेलले भने थोरै समयमा नै त्यसमा धेरै परिवर्तन आइसकेको बताए । विद्यार्थीदेखि शिक्षकका पोशाक, सरसफाई अनि सरस्वति पुजाका अवसरमा विद्यार्थीले निर्धक्क राष्ट्रिय गान अलिकति पनि नबिगारेर गाएको देख्दा विद्यालयले नयाँ फड्को मारेको छ भन्ने आफू ढुक्क बनेको उनले बताए ।

त्यसैगरी काठमाडौं महानगरपालिका वार्ड नं. १७ का वडा अध्यक्ष नविन मानन्धरले कुनै पनि संस्थाले एउटा राम्रो नेतृत्व पायो भने परिवर्तन टाढा छैन भन्ने कुराको उदाहरण यस विद्यालयमा देखिएको बताए । उनले अहिले विद्यालयले कुशल नेतृत्व पाएको र ६ महिनामै विद्यालयको मुहार नै बदलिएकोमा आफू खुसी रहेको बताए ।

विश्वभरका मानिसहरु आएर रमाउने नेपालको पर्यटकीय केन्द्र ठमेल बजारकै छेउमा रहेको शान्ति शिक्षा मन्दिरका प्रधानाध्यापक सुदामप्रसाद गौतम अहिले विद्यालय दुईवर्षे योजनामा अघि बढेको बताउँछन् । उनी दुई वर्षभित्र विद्यालयलाई पूर्णतः नयाँ ठाउँमा पुर्याउने बताउँछन् । त्यही दुई वर्षे योजना अन्तर्गत अहिले विद्यालयको ४ तले भवन निर्माण हुँदैछ । एशियाली डेभलपमेन्ट बैंकको सहयोगमा बन्न थालेको यो भवनसँगै छेउमा अहिले काठमाडौं महानगरपालिकाको सहयोगमा ६ वटा छुट्टै कक्षाकोठा पनि बनिरहेका छन् । सामुदायिक विद्यालयमा आउने बालबालिका कमजोर आर्थिक अवस्था भएका र उनीहरुले विद्यालयमा आउँदा खाजा ल्याउन नसक्ने अवस्थालाई मध्यनजर गरेर विद्यालयले सबै विद्यार्थीलाई विद्यालयमै खाजाको व्यवस्था गरेको छ । त्यसैगरी विद्यालयमा अब नयाँ भर्ना हुने तथा कमजोर आर्थिक अवस्था भएका सबै बालबालिकालाई पोशाकको व्यवस्था गरेको छ । त्यसैगरी शैक्षिक सामाग्रीहरु पनि निःशुल्क उपलब्ध गराउने गरेको छ । विद्यार्थीको चौतर्फी विकासका लागि ध्यान दिन विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलापहरु पनि गर्ने गरेको छ । त्यसका लागि थुप्रै सामाग्रीहरुको व्यवस्था विद्यालयले गरिसकेको छ । विद्यालयका प्रअ गौतम आउँदो शैक्षिक शत्रको सुरुमै शिक्षकहरुका लागि विशेष तालिम आयोजना गर्ने योजना बनिसकेको बताउँछन् ।

गौतम विद्यालयमा प्रअ भएर आएको ६ महिना पनि पूरा भएको छैन । विद्यालयका एक कर्मचारी भन्छन, “६ महिनाअघि विद्यालयमा शौचालय थिएन, पठनपाठन गराउने कक्षाकोठा थिएनन । विद्यार्थीले शौचालय लाग्यो भने उनीहरुकै घरमा पठाउनुपर्दथ्यो । तर, अहिले महिला पुरुषको छुट्टा छुट्टै शौचालय बनिसकेको छ । नयाँ आधुनिक भवन बन्दैछन् । गौतम सर आएपछि धेरै स्रोतहरु जोडिएर आएका छन् ।”

प्रअ गौतमकै पहलमा नेपालस्थित इजरायली दुतावासले विद्यालयका सबै विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको छ । केही दिन अघि मात्र नेपालका लागि इजरायली राजदुत बेन्नी ओमेर विद्यालयमै आएर उक्त कार्यक्रमको सम्झौता गरेका हुन । खेलमैदान, अन्य सामाग्रीका लागि पनि धेरै ठाउँमा पहल भइरहेको उनको भनाई छ । प्रअ गौतम भन्छन्, “निजी स्कूलमा पढाउन नसक्ने अवस्थामा मात्र सामुदायिक स्कूलमा पढाउने अवस्था छ । हामी यसलाई उल्ट्याउन चाहन्छौ । यो व्यापारिक केन्द्र हो । हामी यस वरिपरिका सबै व्यवसायी, उच्च ओहोदाका व्यक्तिहरुका छोराछोरीलाई समेत यो विद्यालयमा आउने अवस्था बनाउँछौ । सबैभन्दा ठूलो कुरा बालबालिकाको पढाइमा हो । पढ्ने वातावरण निर्माण गर्ने काम हामीले बनाइसकेका छौ । अब उच्च प्रतिस्पर्धी विद्यार्थी तयार गर्छौ । शिक्षकको अध्यापन क्षमतामा पनि सुधार गर्छौ ।” सामुदायिक विद्यालयको संरचना, स्रोत साधन र सरकारको लगानीलाई सहीरुपमा प्रयोग गर्न सके निजी स्कूलले प्रतिस्पर्धा गर्न नसक्ने उनको भनाई छ । त्यसका लागि सबै शिक्षक, अभिभावकलाई समेत जिम्मेवारीवोध गराउनुपर्ने उनले बताए । उनी आफू अहिले रात दिन यो विद्यालयलाई नमूना विद्यालय बनाउन लागेको बताउँछन् ।

शान्ति शिक्षा मन्दिर कुनै समय राजधानीको चर्चित स्कूल थियो । यही स्कूलमा पढेका धेरै मान्छेहरु मन्त्री, राजदुत, विश्वविद्यालयका उपकूलपति, इन्जिनियर र डाक्टर बनेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीदास मानन्धर ती दिनहरु सम्झन्छन्, “मैले नै पहल गरेर यो विद्यालय २००७ सालमा स्थापना गरेका हौ । त्यतिबेला जम्मा १८ हजारमा जग्गा लिएर यो स्कूल बनाएका थियौ । अहिलेका धेरै उद्योगी, व्यवसायी यही स्कूल पढेका हुन् ।” चर्चित व्यवसायी तथा नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष सुरेन्द्रविर मालाकार, पूर्व उपकूलपति त्रिरत्न मानन्धर, पूर्वमन्त्री तथा राजदुत बद्री प्रसाद श्रेष्ठ, अहिलेका वडा अध्यक्ष नविन मानन्धर लगायत धेरै धेरै इन्जिनियरहरु, डाक्टरहरु, उद्योगी व्यवसायीहरुसम्म यही विद्यालयका विद्यार्थी थिए ।

पछिल्लो एक दशकको समय भने अरु सामुदायिक विद्यालय जस्तै यो स्कूलका लागि निराशाजनक रह्यो । अब भने विद्यालयले विस्तारै आफ्नो त्यो विरासत नयाँ उचाइमा उठाउने प्रयत्न गरिरहेको प्रअ गौतम बताउँछन् । प्रअ गौतमको संकल्पमा वडा अध्यक्ष मानन्धर आफ्नो साथ रहेको बताउँछन् । सरस्वति पुजाका अवसरमा स्कूलमा आयोजित समारोहमा बोल्दै मानन्धरले भने, “म उहाँको काम देखेर प्रभावित भएको छु । तपाईहरुले पनि केही महिनाभित्र भएको परिवर्तन देख्नुभएको छ । यदि विद्यालयमा कोही विद्यार्थी पोशाक किन्न सक्ने अवस्थामा छैन भने म व्यवस्था गर्छु । अन्य स्रोत साधनका लागि मेरो साथ छ ।”

त्यसैगरी शिक्षा विकास तथा समन्वय प्रमुख पौडेल पनि पछिल्लो समय विद्यालयमा भएको परिवर्तनप्रति प्रभावित छन । उनले भने, “विद्यालयमा धेरै सुधार आइसकेको छ । बाँकी शैक्षिक सुधार र भौतिक वातावरण तयार पार्नका लागि मेरो सधै साथ छ ।”

विद्यालयको सुधार देखेर अहिले निजी क्षेत्रका बैंकहरु पनि खुसी छन् । कुमारी बैंक ठहिटी शाखाका प्रबन्धक मदन कृष्ण श्रेष्ठ विद्यालयको चहलपहल नै पछिल्लो समय अर्कै ठाउँमा पुगेको बताउँछन् । स्थानीयवासी स्कूलको अवस्था देखेर खुसी भएको उनी बताउँछन् ।

त्यसैगरी सिटिजन्स बैंक इन्टरनेशनलका ठहिटी शाखा प्रबन्धक प्रलेस चित्रकार विद्यालयको पछिल्लो सुधारप्रति प्रभावित भएको बताउँछन् । विद्यालयलाई आफूहरुले आवश्यक सहयोग गरिरहेको बताउँछन् । सामुदायिक विद्यालयलाई स्तरोन्नति गर्ने आफ्नो पनि चासो भएको उनको भनाई छ । 

 

Loading...