समको नियमित आकस्मिकता र साहित्यबारे प्रवचन

काठमाडौँ, २४ माघ । नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समको नियमित आकस्मिकता र समका सिर्जनामा त्यसको प्रतिविम्बनबारे आज प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।

समको ११७औँ जन्मजयन्तीका अवसरमा आज नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्को आयोजनामा समको साहित्यका विषयमा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो । प्रवचन कार्यक्रममा डा गोविन्दशरण उपाध्यायले नेपाली साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई आफ्नो रचना याद नभए पनि समलाई भने आफ्ना रचनाबारे राम्रोसँग हेक्का हुने बताए ।

“नेपाली साहित्यका क्षेत्रमा समले एउटा छुट्टै बिम्ब छाडेर जानुभएको छ”, उपाध्यायले भने, “नेपाली साहित्य साधकले समको रचना सुन्न आवश्यक छ ।” उपाध्यायले समको साहित्यमा वास्तविक जीवनको चित्रण रहेको र नेपाली साहित्यका हरेक शैलीलाई उहाँले प्रयोगमा ल्याउनुभएको बताए ।

सो अवसरमा प्राज्ञ डा देवी नेपालले ‘इच्छा’ कविता वाचन गर्नुभएको थियो । त्यस्तै कवि चन्द्रमणि अधिकारीले समको विषयमा लेखिएको कविता वाचन गरेका थिए । समको साहित्यिक विशेषताका बारेमा प्रतिष्ठानले समीक्षा निकाल्ने तयार गरिरहेको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बताए ।

“प्रतिष्ठानले हरेक स्रष्टालाई सम्मान गर्दै आएको छ । त्यसलाई सधैँ निरन्तरता दिनेछ”, उनले भने । नियमित यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको उनले जानकारी दिए । सो अवसरमा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले समले आफ्नो साहित्यमा वैज्ञानिक आधारलाई जोड दिएको बताए ।

“समको साहित्यमा विज्ञानमाथिको भरोसा र भरोसामाथिको शङ्का प्रतिविम्बित हुन्छ”, उनले भने ।

Loading...