सवा करोड दिप प्रज्वलन सहित नेपालगञ्जमा साधना शिवीर हुँदै

नेपालगञ्ज २४ माघ । “पिण्डेश्वर शिव-लक्ष्मी धाम” नेपालगञ्ज, बांकेले यहि फागुन १६ गते देखि २० गतेसम्म “पिण्डेश्वर शिवलक्ष्मी चौथौ साधना शिवीर” को आयोजना गर्ने भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरमा हुने पाँच दिने साधना शिवीरको व्यवस्थापनका कार्यहरु तीब्र गतीमा भइरहेको शिवीरका भोजन व्यवस्थापन उपसमितिका संयोजक चन्द्रा शाहीले बताइन ।

देश विदेशबाट आउने साधकहरूलाई स्तरीय बसोबास तथा खानाको व्यवस्था गर्न तयारी भइरहेको शाहीको भनाई छ ।

साधनामा नेपाल, भारत र गैरआवाशिय नेपालीहरु गरी करिब २ हजारको सहभागिता रहने शिवीर आयोजक समितिले जनाएको छ ।

आयोजकका अनुसार महा शिवरात्री विशेष कार्यक्रम सहित बांके जिल्लामै पहिलो पटक सवा करोड दिप प्रज्वलन गरिने कार्यक्रम छ ।

परम उद्द्धारकर्ता संकटमोचनस्वरुप मदन बाबाको सानिध्यतामा आयोजना हुने यस शिविरमा साधकहरूले, ध्यान, जप, आराधना, भक्ति र सत्संगमा सक्रिय सहभागिता जनाई लाभ लिने अपेक्षा गरिएकोछ ।

शिविरमा महारुद्री अनुष्ठानसहित यज्ञको समेत आयोजनाका लागि तयारी भइरहेको आयोजकले बताएको छ । यसअघि दाङको तुलसीपुर, बर्दियाको कोठियाघाट र कैलालीको टीकापुरमा “पिण्डेश्वर शिवलक्ष्मी साधना शिवीर” सम्पन्न भइसकेका छन ।

परम उद्द्धारकर्ता संकटमोचनस्वरुप मदन बाबाको सानिध्यतामा देश विदेशमा करिब पाँच लाख बढी साधकहरु रहेको अनुमान गरिन्छ ।

Loading...