नेकपाका दुई विद्यार्थी संगठनले स्ववियु चुनाव घोषणा गर्न दिए अल्टिमेटम

काठमाडौँ, २३ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई विद्यार्थी सङ्गठन (अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले ४८ घण्टाभित्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति घोषणा गर्न त्रिभुवन विश्वविद्यालयलाई ‘अल्टिमेटम’ दिएका छन् ।

उपकुलपति प्रा डा तीर्थराज खनियाँसँगको छलफलमा अनेरास्ववियु विश्वविद्यालय क्याम्पस त्रिवि इञ्चार्ज भूषण सुवेदीले ४८ घण्टाभित्र स्ववियु चुनावको कार्य तालिकासहित मिति घोषणा नगरे तालाबन्दी गर्ने चेतावनी दिएको विद्यार्थी नेता समीरराज बस्नेतले जानकारी दिए ।

हाल क्याम्पसहरूमा रहेको स्ववियुको पदावधि आगामी फागुन १८ गते सकिँदैछ । त्यसैले फागुनभित्र चुनाव हुने गरी मिति घोषणा गर्न दुवै सङ्गठनले माग गरेका हुन् । एक महीनाअघि निर्वाचन मिति र कार्यतालिका घोषणा गर्नुपर्ने भए पनि हालसम्म नगर्दा फागुनमा चुनाव हुनेमा आशङ्का देखिएकाले ‘अल्टिमेटम’ दिएको अनेरास्ववियु त्रिवि क्याम्पस कमिटीका अध्यक्ष मदन बिष्टले जानकारी दिए ।

विद्यार्थी सङ्गठनसँगको भेटमा उपकुलपति खनियाँले यस विषयमा त्रिवि पदाधिकारी, विद्यार्थी कल्याण प्रमुख र विद्यार्थी सङ्गठनका नेतृत्वसँग छलफल गर्ने आश्वासन दिए । छलफलमा अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सचिव राजकुमार एक्सो, क्रान्तिकारीका त्रिवि समितिका अध्यक्ष लोकेन्द्र ऐरी, अनेरास्ववियु त्रिवि कमिटी नेता बिष्ट र अनेरास्ववियु त्रिवि कमिटी नेता समीर बिष्टलगायत विद्यार्थी नेता सहभागी थिए ।

Loading...