शान्त बन्दै दक्षिणी सुडान, २० हजार नागरिक देश फिर्ता

एजेन्सी । संयुक्त राष्ट्रसंघले दक्षिणी सुडानमा शान्ति प्रक्रियाले सकारात्मक मोड लिएको जनाएको छ । लामो समयदेखि गुहयुद्धमा रहेको दक्षिणी सुडानमा देश छाडेका २० हजार नागरिक पछिल्लो समय स्वदेश फिर्ता भएका बताइएको छ ।

राष्ट्रसङ्घीय एक निकायले बुधबार सार्वजनिक गरेको तथ्याङ्कनुसार देशमा पछिल्लो समयमा भइरहेको शान्ति प्रक्रियाको प्रभावले उनीहरू स्वदेश फर्किएका हुन् । दक्षिणी सुडानबाट विस्थापित भएर युगाण्डा पुगेका उनीहरू स्वतः स्फुर्तरूपमा स्वदेश फर्किएको राष्ट्रसङ्घीय अधिकारीहरूले जनाएका छन् ।

शरणार्थीका लागि राष्ट्रसङ्घीय उच्च आयोगका तर्फबाट युगाण्डामा रहेका प्रतिनिधि जोएल बौट्रोयले २० हजारभन्दा बढी शरणार्थी घर फर्किएको जानकारी दिएका हुन ।

“सरकारले स्वदेश फर्किनेहरूको सङ्ख्या हामीले भनेको भन्दा धेरै बढी रहेको दाबी गरेको छ, तर हामीले भने २० हजारको हाराहारीमा शरणार्थी स्वदेश फर्किएको पाएका छौँ,” उनले भने ।

युगाण्डामा अहिले झण्डै १२ लाख शरणार्थी रहेका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै शरणार्थी हुन् । तीमध्ये सात लाख ८९ हजार ९९ शरणार्थी छिमेकी मुलुक दक्षिणी सुडानबाट आएको समाचारमा जनाइएको छ ।

Loading...