टर्कीमा भइरहेको पारा तेक्वान्दोमा नेपालले जित्यो कास्य पदक

काठमाडौँ, २३ माघ । आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनशिपमा नेपालका विक्रम श्रेष्ठले कास्य पदक जितेका छन् ।

टर्कीमा आज बिहान भएको च्याम्पियनसिपमा श्रेष्ठले पुरुषको पि–३२ विधातर्फ एकल पुम्सेमा कास्य जितेका हुन् । च्याम्पियनशिपमा मोरक्कोका खेलाडी बिलाल एक खात्ताबियालाई अङ्कको आधारमा हराएर श्रेष्ठ सेमिफाइनलमा पुगेका थिए । सेमिफाइनलमा उनी रुसका आन्द्रि ग्राभोभास्कीसँग पराजित भएको प्रशिक्षक कविराज नेगी लामाले बताउनुभयो ।

सो स्पर्धामा रुसका आन्द्रिले स्वर्ण तथा क्रोएशियाका डामागोज बुझसिचले रजत जिते । श्रेष्ठसँगै इटालीका रिकार्डो जिमेरम्यानले कास्य पदक जिते । विश्व च्याम्पियनशिपमा नेपालले पहिलो पटक पुम्सेमा सहभागिता जनाएको हो ।

पहिलो सहभागितामै पदक जित्न सफल भएको प्रशिक्षक लामाले जानकारी दिए । प्रतियोगितामा ६९ मुलुकका ४२५ खेलाडीले प्रतिष्पर्धा गरिरहेका छन् ।

Loading...