नेपालका कलेजमा भारतीय विश्वविद्यालय सहजै प्रचारप्रसार बढाउँदै

काठमाडौँ, २३ माघ । राजधानी काठमाडौं लगायत देशका विभिन्न ठाउँमा भारतीय कलेजका प्रतिनिधिहरु आएर धमाधम आफ्नो प्रचार प्रसार बढाउन थालेका छन् । कलेज कलेजमा पुगेर भारतीय कलेजले आफ्नो प्रचारप्रसार गरिरहँदा सरकारी निकायलाई भने त्यसबारे जानकारी छैन ।

पछिल्लो समय मात्र भारतका तीन विश्वविद्यालयका प्रतिनिधिले नेपालका विभिन्न कलेजमा विद्यार्थी र अभिभावकलाई ‘करियर गाइडेन्स सेसन’ परामर्श सञ्चालन गरेका छन् । राजधानी काठमाडौका ‘ग्यासियर इन्टरनेशनल’, ‘ट्रिटन’, ‘साइपाल’, ‘लालीगुराँस नेशनल’, ‘जुब्लियन्ट’, बूढानीलकण्ठलगायत कलेजमा उनीहरुले यस्तो कार्यक्रम गरेका हुन् ।

काठमाडौंमा भारतीय विश्वविद्यालयले प्रत्येक वर्ष एजुकेशन फेस्टिभल चलाउँदै आएका छन् । यसपटक पनि ‘अनट्र्याक कन्सल्टेन्सी’ र ‘ग्लोबल एजुकेटर्स एण्ड कन्सल्टेन्स’ले यस्तो फेस्टिभल चलाएका छन् । परामर्श सेशनका लागि भारतको अनसल विश्वविद्यालयका उपकुलपति डा राज सिंह, एस आरएम विश्वविद्यालयका प्राध्यापक विनित बजाज, बिएमएल मुन्जाल विश्वविद्यालयका सहप्राध्यापक विनायक कल्लुरीलगायत अनसल विश्वविद्यालयका प्रतिनिधि काठमाडौँ आएका छन् ।

यही माघ २० गतेदेखि शुरु भएको सेसन माघ २५ गतेसम्म नेपालका विभिन्न कलेजमा पुगी त्यहाँका विद्यार्थीबीच हुनेछ । भारतीय विश्वविद्यालयले आफ्ना विषय, अध्ययनका प्रक्रिया तथा ज्ञान, सीप र क्षमतायुक्त शिक्षाबारे जानकारी दिने अनसल विश्वविद्यालयका उपकुलपति डा सिंहले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बताए । उनले योजना र विकास, स्वास्थ्य र कम्प्युटर विज्ञान, इञ्जिनियरीङ र विविध विषयमा विद्यार्थीले परामर्श पाइसकेको बताए ।

ग्लोबल एजुकेटर्स एण्ड कन्सल्टेन्सका निर्देशक गुञ्जन चौधरीले ती विश्वविद्यालयले नेपाली कलेजसँग अनुसन्धान र मानव संसाधन विकासका विषयमा सहकार्यको समेत योजना ल्याएको जानकारी दिए । उनले नेपालजस्ता मुलुकका विद्यार्थीका लागि तेस्रो मुलुकमा भन्दा भारतीय विश्वविद्यालयमा शुलभ शिक्षा मिल्ने दाबी गरे ।

भारतसँगको खुल्ला सिमाना र त्यहाँ अध्ययनमा जान अनिवार्यरूपमा ‘नो अब्जेक्सन’ पत्र लिनु नपर्ने भएकाले भारतमा अध्ययनरत नेपाली विद्यार्थीको यकिन आँकडा भने छैन । अनौपचारिक विवरणअनुसार वार्षिक करीब पाँच हजार नेपाली विद्यार्थी अध्ययनका लागि भारत जान्छन् । हाल अष्ट्रेलियामा सबैभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन् ।

Loading...