फिट्नेस, एथलेटिक्स फिजिक्स र शारीरिक सुगठन प्रतियोगिता हुने

काठमाडौँ । नेपाल शारीरिक सुगठन तथा फिट्नेश सङ्घको आयोजनामा सातौँ मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता एवं दोस्रो पुरुष फिट्नेस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स २०७६ आगामी वैशाख २० र २१ गते काठमाडौँमा हुने तय भएको छ ।

उक्त प्रतियोगताअन्र्गतको मिस्टर हिमालयतर्फ ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी माथिको तौल समूह गरी ६ स्पर्धामा प्रतिस्पर्धा गराइने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रत्येक तौल समूहका शीर्ष तीन स्थान हात पार्ने खेलाडीले स्वर्ण जित्नेले रु २५ हजार, रजत जित्नेले १५ हजार र कास्य पदक हात पार्नेले १० हजार पाउनेछन् । यस्तै चौथो र पाँचौँ हुने खेलाडीले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै प्रत्येक तौल समूहका प्रथम स्थान हात पार्ने खेलाडीले मिस्टर हिमालय उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । सबै प्रतिस्पर्धामा प्रथम हुने खेलाडीले ‘मिस्टर हिमालय’को उपाधिसहित रु दुई लाख ५० हजार प्राप्त गर्नेछन् ।

प्रत्येक दुई वर्षमा आयोजना हुने मिस्टर हिमालय प्रतियोगिताकै दौरान शारीरिक सुगठन विधाअन्तर्गत हुने दोस्रो पुरुष फिट्नेस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स २०७६ को स्पर्धामा पुरुषतर्फ १७० सेमी र त्योभन्दा माथि गरी दुई विधा तथा महिला एथलेटिक्स फिजिक्सका खेलाडीलाई प्रतिस्पर्धा गराई प्रत्येक समूहबाट पाँच खेलाडी दोस्रो दिन हुने फाइनल चरणका लागि छनोट गरिनेछ ।

फाइनल चरणमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः रु २५ हजार, १५ हजार र १० हजार पाउनेछन् । यस्तै चौथो र पाँचौँ हुने खेलाडीले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । उक्त प्रतियोगिता सञ्चालनका लागि करीब रु २० लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।

Loading...