११४० सरकारी कार्यालयको अनुगमन, २३७७ कर्मचारी कारवाहीमा

काठमाडौँ, २३ माघ । राष्ट्रिय सतर्कता केन्द्रले एक आर्थिक वर्षमा ११ सय ४० सरकारी कार्यालयको अनुगमन गर्दा २ हजार ३७७ कर्मचारी कारवाहीमा परेको जनाएको छ । केन्द्रले आर्थिक बर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसमक्ष केन्द्रका सचिव विष्णुओम वादेले १६ औँ वार्षिक प्रतिवेदन बुझाउँदै उक्त तथ्यांक ल्याएका हुन् । वार्षिक प्रतिवेदनमा केन्द्रमा परेका एक हजार २३९ मध्ये ९०३ उजुरी फछ्र्योट गरिएको उल्लेख गरिएको छ ।

तीमध्ये अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाइएका १५८, सम्बन्धित निकायमा पठाइएका ४३ र अन्य तामेलमा भएका ७०२ छन् । केन्द्रले राष्ट्रिय गौरवका १८ र अन्य आयोजनातर्फ १८ वटाको प्राविधिक परीक्षणसमेत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

केन्द्रले एक हजार १४० सरकारी कार्यालयको अनुगमन गरी समय पालना नगर्ने र समयमा कार्यालय नआउने दुई हजार ३७७ जना कर्मचारीले कारवाहीका लागि सिफारिश गरिएको प्रतिवेदनमा उल्लेख गरिएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी गराए ।

केन्द्रले सम्पत्ति विवरण नबुझाउने १९ हजार १३४ जना सार्वजनिक पद धारण गरेका पदाधिकारी र सरकारी कर्मचारीलाई कारवाहीका लागि आयोगमा पठाइएको उल्लेख गरिएको छ ।

वार्षिक प्रतिवेदनमा सार्वजनिक पद धारण गरेका पदाधिकारी र कर्मचारीले नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायले सम्पत्ति विवरण बुझाउन लगाउनुपर्ने सुझाव दिइएको छ ।

Loading...