नेपाल प्रहरीले ७४७ स्थानीय तहसँग गर्यो यस्तो सम्झौता

काठमाडौँ, २३ माघ । नेपाल प्रहरीले अपराध नियन्त्रण गरी समाजमा शान्तिसुरक्षा कायम गर्न समुदायसँग सहकार्य गर्ने लक्ष्यसहित थालेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम कार्यान्वयनका लागि मुलुकका ७५३ मध्ये ७४७ स्थानीय तहसँग सम्झौता गरेको छ ।

‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ नाराका साथ गत कात्तिक ११ गतेदेखि शुरु भएको सो कार्यक्रमअन्तर्गत ७५ जिल्ला समिति, ७३७ पालिका समिति, तीन हजार ९४१ वडा समिति, दुई हजार ९४६ टोल समिति र चार हजार ३५२ विद्यालय सम्पर्क समिति गठन गरिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । नागरिक समाज, स्थानीय सरकार, विभिन्न सङ्घसंस्था, विद्यालयसमेतको सहभागितामा शुरु भएको उक्त कार्यक्रमको सकारात्मक प्रतिक्रिया आउन थालेको सुवेदीले बताए ।

सामाजिक न्याय, राष्ट्रिय सुरक्षा, आपसी मेलमिलाप, सामुदायिक शिक्षा र जनचेतना जगाउने उद्देश्यले थालिएको उक्त कार्यक्रम सञ्चालनका लागि कूल १० हजार ५६ प्रहरी कर्मचारीलाई प्रशिक्षण दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यक्रम लागू भएपछि हालसम्म प्रहरीले ९२ नाल अवैध हतियार र ८४ राउण्ड गोली बरामद गरेको छ ।

तीन हजार ७०८ फरार अभियुक्तमध्ये ९७४ जना पक्राउ परेका र एक हजार ८६५ किलो गाँजा, ३२९ किलो चरेस र ६ किलो खैरो हेरोइन बरामद गरिएको छ । यस्तै प्रहरीले १६ बिघा तथा एक हजार ४६१ रोपनी जमीनमा लगाएको गाँजा खेती नष्ट गरेको छ । उक्त कार्यक्रमअन्तर्गत घरदैलो, सार्वजनिक सुनुवाइ, खेलकूद, स्वास्थ्यलगायत विभिन्न शिविर तथा सचेतनामूलक कार्यक्रमसमेत चलाइएको प्रवक्ता सुवेदीले बताए ।

Loading...