नेपालमै हुनेभयो कथा प्रतियोगिता, उत्कृष्ट कथा लेख्नेलाई एक लाख दिइने

काठमाडौं, २१ माघ । नेपालमा कथा लेखन विधामा पनि प्रतियोगिता हुने भएको छ । त्यो पनि अहिलेसम्मकै ठूलो पुरस्कार राशीसहित । १२ खरी बुक्सले यस्तो राष्टव्यापी खुल्ला आधुनिक कथा प्रतियोगिताको घोषणा गरेको हो ।

कथा विधालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथी खुला आधुनिक कथा प्रतियोगिता आयोजना गरिएको १२ खरी बुक्सका कार्यकारी सम्पादक गोविन्द अधिकारीले जनाएका छन् ।

यो प्रतियोगिताको औपचारिक घोषणा सोमवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी गरिएको छ । पत्रकार सम्‍मेलनमा बोल्दै १२ खरी बुक्सका कार्यकारी सम्पादक अधिकारीले कथामा सशक्त लेखन र नवप्रतिभालाई सुनौलो अवसर प्रदान गर्ने उद्देश्यका साथ कथा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए।

उनले भने, ‘यसबाट आधुनिक नेपाली कथा विधामा कलम चलाउनेहरु नवप्रतिभाहरुलाई अवसर मिल्नेछ भने स्थापित कथाकारलाई पनि आफ्‍नो कथामार्पत समाजमा चेतना छर्ने माध्‍यम बन्छ। त्यसकारण हामी स्थापित लेखकदेखि नवप्रतिभासम्मलाई ‘डिसहोम १२ खरी कथा’ मा भाग लिन आग्रह गर्छौ।’

प्रतियोगितामा भाग लिन चाहने इच्छुक कथाकारले आफ्नो कथा फागुन २० गतेभित्र आफूहरुको इमेलमा पठाइसक्नुपर्ने बताए । प्रतियोगितामा सर्वोत्कृष्ट हुने कथालाई १ लाख दिने बताइएको छ । त्यसैगरी दोस्रो हुने कथालाई ६० हजार दिइनेछ भने तेस्रो हुने कथालाई ४० हजार रकम प्रदान गरिने आयोजकले जनाएको छ । साथै उत्कृष्ट तीन कथालाई अवार्ड र प्रमाणपत्र पनि प्रदान गरिने बताइएको छ ।

त्यसैगरी १२ खरी बुक्सले अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ वटा कथाको पुस्तक प्रकाशित गर्ने जनाएको छ । उक्त पुस्तकमा पर्ने सबै कथाकारलाई पाँच पाँच हजारका दरले पारिश्रमिक दिने आयोजकले जानकारी दिएको छ ।

अधिकारीले देशको जुनसुकै कुनामा भए पनि कथा लेख्न सकिने जानकारी दिए । कथा लेखेर इमेलमा पठाइदिएपुग्ने उनले बताए । कथा प्रतियोगिताको नतिजा २०७६ वैशाख ६ गते शुक्रबारका दिन एक कार्यक्रमबीच सार्वजनिक गरिने बताइएको छ ।

१२ खरी कलासाहित्यका सम्पादक लेनिन बन्जाडेले कथा साहित्यको एउटा लोकप्रिय विधा हुँदाहुँदै पनि पछिल्लो समय कथा लेखनको गति केही सुस्ताएको महसुस गर्न थालेको बताए । उनले पुराना कथाकारहरु प्रिन्ट मिडियातिर बढी आकर्षित हुन थालेकाले कथा माग्‍नै अप्ठ्यारो हुने गरेको बताए ।

कार्यक्रममा वन्जाडेले कथा नेपाली भाषामा लेखिनुपर्ने जानकारी दिए । त्यसरी छनौट भएको कथा अनुवादको जिम्मेवारी स्वयं लेखकको हुनु पर्ने बताए । त्यस्तै कथा कम्तीमा १५०० शब्द र बढीमा ४००० शब्दसम्मको हुनुपर्ने पनि उनले जानकारी दिए ।

Loading...