गगनविरुद्ध पोखरामा कांग्रेस विद्यार्थीले नै देखाए कालोझण्डा

पक्राउ परेका कार्यकर्तालाई छुटाउनुभन्दा उल्टै कारवाही गराउन लागेको गगनमाथि आरोप

पोखरा, २१ माघ । आफूहरुले गाडी जलाएको विरुद्धमा अभिव्यक्ति दिएको भन्दै कांग्रेस नेता गगन थापाका विरुद्ध सोही पार्टीको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पोखरामा कालोझण्डा देखाएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीसमेत रहको थापा सोमवार सरकार विरुद्ध पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पोखरा पुगेका थिए । सोही क्रममा उनलाई उनकै विद्यार्थी संगठनका कार्यकर्ताले विरोधी नारा लगाउँदै कालोझण्डा देखाएका हुन् ।

नेपाली कांग्रेसले सरकारलाई खबरदारी गर्न देशभर प्रदर्शन कार्यक्रम सुरु गरेको छ । सोही क्रममा सोमवार थापाले पोखराको विरोध प्रदर्शन कार्यक्रममा सहभागी भई प्रदर्शनपछि आयोजना गरिएको कोण सभालाई सम्बोधन गरेका थिए । उक्त कोणसभामा सरकारका विरुद्ध कडा भाषण गरिरहँदा उनकै कार्यकर्ताले भने कालो झण्डा देखाए । उनलाई कालोझण्डा देखाउने नेविसंघ कास्कीका जिल्ला सभापति विकास थापाकै नेतृत्वमा एउटा समूह लागेको थियो ।

नेविसंघ कास्कीले गत शनिबार पोखरा महानगरपालिकाको गाडीमा आगजनी गरेको थिए । सोही आरोपमा प्रहरीले नेविसंघका ५ कार्यकतालाई पक्राउ गरेको छ । विदाका दिन सरकारी गाडी चलाउनु दुरुपयोग हुने भन्दै नेविसंघले यो अभियान देशव्यापी चलाएको थियो । सो क्रममा नेविसंघका कार्यकर्ताले कास्की र काठमाडौंको बुद्धनगरमा सरकारी गाडीमा आगजनी गरेका थिए ।

नेविसंघका पूर्व नेता समेत रहेका थापाले भने उक्त कार्यका विरुद्ध अभिव्यक्ति दिँदै त्यसको निन्दा समेत गरेका थिए । आइतबार सामाजिक सञ्जाल ट्वीटरमा उनले आफ्नो धारणा सार्वजनिक गरेका थिए । गगन थापाको त्यस्तो स्टाटस आएपछि नेविसंघ र केही कांग्रेसी नेताहरु भने उनीप्रति आक्रोशित बनेको बताइएको छ । त्यसैक्रममा आज सोमवार पोखरामा उनीविरुद्ध उनकै कार्यकर्ताले कालोझण्डा देखाएका हुन् ।

नेता थापाले आफ्नो ट्वीटरमा लेखेका थिए, ‘नेविसंघको नाममा केही ‘विद्यार्थीले’ सरकारी गाडी जलाएकोमा तपाईको धारणा के हो, भनेर थुप्रै साथीहरुको प्रश्न रहेछ। किन्तु, परन्तु केही नलगाई मेरो उत्तरः त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ। यस्तो कामलाई निरुत्साहित गर्न म डटेर लाग्नेछु ।’

नेविसंघ कास्कीले भने थापाको अभिव्यक्तिप्रति आक्रोश पोखेको छ । नेता थापाले पक्राउ परेका विद्यार्थी नेतालाई रिहाई गर्न पहल गर्नुको साटो कारवाही गर्नुपर्छ भनेको भन्दै नेविसंघका नेताहरुले उनीविरुद्ध आक्रोश पोखेका छन् । नेता थापाले उल्टै आगजनीमा सहभागी हुनेहरुलाई कारवाही गराउन भूमिका खेलेको आरोप समेत नेविसंघ कास्कीले लगाएको छ ।

नेविसंघ कास्कीले थापाविरुद्ध कालोझण्डा देखाएको घटनाप्रति नेपाली कांग्रेस कास्कीले आफ्नो कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन्।

Loading...