यमन सरकार नियन्त्रित क्षेत्रमा हुथी विद्रोहीद्वारा व्यापक गोलाबारी

यमनको हुथी समूहका लडाकूले सरकारी सेनाको रेड सी बन्दरगाह शहर होडेइडामा शनिबार राति व्यापक गोलाबारी गरेका सैनिक अधिकारीले बताएका छन् ।

हुथी समूहले सरकार नियन्त्रित होडेइडाको हे जिल्लामा मोर्टार र तोपद्वारा आक्रमण गरेका एक अधिकारीले आफ्नो नाम गोप्य राख्ने शर्तमा बताए । उनले सरकारी सेनाको सैन्य इलाका तथा तालीम शिविरमा गरेको आक्रमणबाट करीब १० जना सैनिक अधिकारी घाइते भएको बताए ।

होडेइडालाई संयुक्त राष्ट्रसङ्घको पहलमा युद्धबिराम क्षेत्र घोषणा गरेकाले सेनाले प्रतिवाद नगरेको उनले बताए । यसैबीच, सरकारी स्रोतले सिन्ह्वालाई दिएको जानकारीमा सेनाको पुनः तैनाथ समन्वय समितिले विद्रोहीले शिविर क्षेत्रलाई आक्रमण गरेपछिको तनावका बारेमा पानी जहाजमा बैठक बसी आगामी अवस्थामा के गर्ने भन्ने छलफल गरेको छ ।

आइतबार नै यमनको सरकारले युद्धबिराम क्षेत्रमा विद्रोही लडाकूले जानाजान होडेइडाबारे स्वीडेनमा गरेको युद्धविराम सहमतिलाई उल्लङ्घन गरिरहेको बताएको थियो । यमनको राज्य सञ्चालित समाचार संस्था, सावा न्यूज एजेन्सीले सरकारको विज्ञप्तिलाई उद्धृत गर्दै युद्धबिरामको समयदेखि अहिलेसम्म करीब ३० दिनको समयमा हुथीसमूहले ९७० पटक युद्धबिराम सहमतिको उल्लङ्घन गरेको र यसबाट ७१ जनाको मृत्यु भएको तथा ५३४ जना घाइते भएका बताएको छ ।

यमनमा सन् २०१४ मा शुरू भएको द्वन्द्वमा यमनी विद्रोहीले राजधानी साना लगायतका अधिकांश स्थान कब्जामा लिएपछि राष्ट्रपति लगायतका सरकारी अधिकारीले साउदी अरबमा शरण लिन पुगेका थिए । सन् २०१५ देखि साउदी नेतृत्वको गठबन्धन सेनाले यमन सरकारको समर्थनमा विद्रोही विरूद्ध कारवाही जारी राख्दै आएको छ ।

यमनमा भएको द्वन्द्वका कारण करीब एक वर्षको छोटो समयमा नै करीब १० हजार नागरिकले ज्यान गुमाएका थिए भने द्वन्द्वका कारण अहिले पनि दैनिकजसो निहत्था नागरिकको ज्यान जाने गरेको छ ।

Loading...