नेविसंघको गाडी जलाउने कार्यविरुद्ध गगन थापाले गरे कडा निन्दा

काठमाडौं, २० माघ । शनिवार नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले सरकारी गाडीमा गरेको आगजनीका बारेमा सोही पार्टीका युवा नेता गगन थापाले निन्दा व्यक्त गरेका छन् ।

नेता थापाले सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो प्रतिक्रिया लेख्दै नेविसंघले गरेको गाडी जलाउने कार्य निन्दनीय रहेको बताएका छन् । नेविसंघले शनिवार देशभर ६ वटा सरकारी गाडी नियन्त्रणमा लिएर २ वटा गाडी आगो लगाएर ध्वस्त पारेको थियो । थापा नेपाल विद्यार्थी संघकै पूर्व नेता समेत हुन । विद्यार्थी राजनीतिमै जमेर राजनीतिमा स्थान बनाएका थापाले अहिले सोही संगठनले गरेको कार्यको यस्तो निन्दा गरेपछि सबैतिर चर्चा चुलिएको छ । नेता थापाले नेविसंघको गाडी जलाउने कामको निन्दा मात्र गरेका छैनन, उनले यस्ता कार्यका विरुद्ध पनि लाग्ने बताएका छन् ।

नेकपाको नेतृत्वमा रहेको दुई तिहाई बहुमतको सरकारविरुद्ध सदनमा घेराउ, नारावाजीसहितका आन्दोलन गरिरहेको नेपाली कांग्रेसको विद्यार्थी संगठनले प्रतिपक्षीय आन्दोलनलाई बलियो बनाउन सडकमा विद्यार्थी संगठनलाई उतारेको चर्चा छ । सोही निर्देशन अनुसार विद्यार्थी संगठनले सरकारी गाडीहरु विदाको दिन चलाउन नपाउने भन्दै शनिवार चलाइएका गाडी नियन्त्रणमा लिएको थियो । जनताबाट लिएको करबाट जोडिएका सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गरिएको भन्दै सामाजिक सन्जालमा नेविसंघको चर्को आलोचना समेत भइरहेको छ । विद्यार्थी संगठनले यसरी सरकारी सम्पतिको तोडफोड तथा आगजनी गरे पनि कांग्रेस नेताहरुले केही प्रतिक्रिया जनाएका थिएनन । नेताहरुले समेत कुनै प्रतिक्रिया नजनाएपछि कांग्रेसविरुद्ध झन आक्रोश बढेको थियो । यसैक्रममा नेता थापाले आज ट्वीटरमा आफ्नो प्रतिक्रिया जनाएका हुन् ।

नेता थापाले ट्वीटरमा लेखेका छन्, ‘‘त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ । यस्तो कामलाई दुरुत्साहन गर्न म डटेर लाग्नेछु ।’

उनले धेरै मान्छेहरुले नेविसंघले गाडी जलाएको बारेमा प्रतिक्रिया मागेको पनि जनाएका छन् । त्यसरी धेरै प्रश्न आएपछि थापाले सामाजिक सञ्जालमार्फत नै आफ्नो धारणा व्यक्त गरेका हुन् । उनले भनेका छन्, “नेविसंघको नाममा केही ‘विद्यार्थीले’ सरकारी गाडी जलाएकोमा तपाईंको धारणा के हो, भनेर थुप्रै साथीहरूको प्रश्र रहेछ। किन्तु, परन्तु केही नलगाई मेरो उत्तरः त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ। यस्तो कामलाई दुरुत्सहान गर्न म डटेर लाग्नेछु।”

नेविसंघका कार्यकर्ताहरुले सार्वजनिक विदाको दिन सरकारी गाडी चलाएको भन्दै शनिबार पोखरा महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख चढ्दै आएको बा १ झ ५८७९ नम्बरकोे सरकारी गाडीमा आगजनी गरेका थिए ।

नेविसंघका कार्यकर्ताले काठमाडौंमा सचिवद्वय शिशिरकुमार ढुंगाना र दिनेशकुमार घिमिरे तथा सहसचिव प्रविणराज अर्यालको गाडी नियन्त्रणमा लिएका थिए । यसैगरी सप्तरीबाट प्रदेश २ को मुख्यमन्त्री कार्यालयका सचिवको गाडी पनि उनीहरुले नियन्त्रणमा लिएका थिए । सरकारी कर्मचारीहरुले सार्वजनिक विदाको दिन सम्बन्धित कार्यालयबाट पास लिएर मात्र सरकारी गाडी चलाउनुपर्ने व्यवस्था छ ।

यस्तो छ गगन थापाको ट्वीटर पोस्ट

 

यो पनि पढनुहोस्

गान्धीवादी कांग्रेस सार्वजनिक गाडी जलाउँदै, ६ गाडी नियन्त्रणमा, २ गाडी आगो लगाइ ध्वस्त

Loading...