कांग्रेसका विद्यार्थीले जलाए महानगरपालिकाको गाडी, गाडी जलाउने ५ नेता पक्राउ

पोखरा, १९ माघ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ आवद्ध विद्यार्थीले महानगरपालिकाको गाडी जलाएका छन् ।

पोखराको मासबारमा नेविसंघका कार्यकर्ताले पोखरा महानगरपालिकाको गाडी जलाएका हुन् । शनिबार विहानै महानगरको बा १ झ ५८७९ नम्बरको गाडीमा आगजनी भएको हो ।

नेविसंघले बिदाको दिन सरकारी गाडीको दुरुपयोग भएको भन्दै दशभर अभियान चलाएको छ । सोही क्रममा पोखरा ७ मासबारमास्थित घरेलु कार्यालय नजिक महानगरको गाडी जलाइएको हो । गाडी जलाएको घटनाको नेविसंघले जिम्मेवारी समेत लिएको छ । नेविसंघ कास्कीका नेता सरोज केसीले बिदाको दिन सरकारी गाडी चलाएको भेटिएकाले जलाइएको बताएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार गाडीमा रहेका मानिसहरुलाई जबरजस्त झारेर आगो लगाइएको थियो । गाडीमा आगो लगाएर विद्यार्थीहरु भागेका थिए । लगत्तै पुगेको दमकलले आगो निभाएको भए पनि गाडी जलेर काम नलाग्ने अवस्थामा छ ।

पोखरा महानगरपालिकाकाका सूचना अधिकारी गंगालाल सुवेदीले स्वास्थ्य महाशाखामा करारमा कर्मचारी नियुक्ति गर्न शनिबार लिखित परीक्षा रहेको र सोही परीक्षाको तयारीका लागि शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यलाई लिन सो गाडी उनको निवास मासवार गएको बताए । त्यहीबेला गाडी जलाइएको उनले बताए ।

यसैबीच, प्रहरीले गाडी जलाएको आरोपमा ५ जना नेविसंघ सम्बद्ध विद्यार्थी नेतालाई पक्राउ गरेको छ । नेविसंघ कास्कीका पूर्व सभापति लक्ष्मी पौडेल, नेता परशुराम बस्नेत, पोखरा विश्वविद्यालयका पूर्व सभापति राजेन्द्र बराल, नेता डिफान भुजेल र ला(ग्राण्डी कलेजका नेविसंघ सभापति बिनय पौडेल पक्राउ परेका हुन् ।

Loading...