पूर्वमन्त्रीसहित ४ नेतामाथि रुकुमकोटमा कुटपिट

रुकुम, १९ माघ । रुकुममा एक पूर्वमन्त्रीमाथि कुटपिट भएको छ । नेपाली कांग्रेसका नेता तथा पूर्व सहायक मन्त्री केशरमान रोकामाथि कुटपिट भएको हो । मन्त्री रोकासँगै उनीसँग रहेका अन्य ४ जनाले पनि कुटाइ खाएका छन् ।

संघीयतासँगै रुकुम जिल्ला दुईवटा जिल्लामा टुक्रिएपछि यसको सदरमुकाम कहाँ राख्ने भन्ने विषयमा विवाद छ । एउटा समूहले अहिले अस्थायी सदरमुकाम रहेको रुकुमकोटमै स्थायी सदरमुकाम कायम गर्न दवाव दिँदै आएको छ भने अर्को समूहले पूर्वी रुकुमकै गोल्खाडामा सदरमुकाम कायम गर्न माग गर्दै आएको छ । यसै विषयमा पूर्वी रुकुममा केही दिनदेखि आन्दोलन पनि चर्केको छ । सोही क्रममा आन्दोलनकारीले पूर्वमन्त्रीसहित केही नेताहरुलाई कुटपिट गरेका हुन् । कुटाई खानेमा सरकारको नेतृत्व गरिरहेको दलका नेता पनि छन् । नेकपाका नेता सतमान पुन मगर, पुुनिराज घर्ती मगरले पनि कुटाइ खाएका छन् । त्यस्तै नेपाली कांग्रेसका नेता ध्रुवकुमार पुन मगरमाथि पनि कुटपिट भएको छ । कुटपिटबाट पूर्वमन्त्री रोकाले शरिरमा ठूलो असर परेको बताएका छन् । उनले जिउँ सहनै नसकिने गरी दुखिरहेको बताएका छन् ।

पूर्वमन्त्री रोका एउटा गाडीमा चढेर रुकुम पश्चिमबाट रुकुम पूर्व गइरहेका बेला बाटोमा उनीसहित ४ जनामाथि कुटपिट भएको हो । आन्दोलनकारीले शनिवार बिहानै उनीहरु चढेको गाडीमा ढुङ्गा समेत प्रहार गरेका थिए । रुकुमकोट प्रवेश गर्नु अगावै रानीकोट भन्ने ठाउँमा आफूहरूमाथि कुटपिट भएको रोकाले बताएका छन ।

‘मान्छेहरू गाडी रोक्न बाटो बसेका रहेछन्, मान्छे देखेपछि हामी चढेको गाडी फर्कियो । हामी त्यहाँबाट हिँडेर जान थाल्यौ । त्यसपछि हामीलाई बाटोमा लछारपछार पारियो ।’ मन्त्री रोकाले टेलिफोनमा भने । उनले कुटपिट नगर्न आग्रह गर्दा पनि झन् कुटपिट गरिएको बताए । शरीर दुःखेर चल्नै नसक्ने अवस्थामा रहेको उनले जानकारी दिएका छन् ।

त्यसैगरी कुटाई खाने नेकपाका नेता सतमान पुनले आफूहरूमाथि सांघातिक हमला भएको बताएका छन् । उनले आफूहरुलाई रानीकोटबाट लछारपछार पार्दै रुकुमकोट पुर्‍याइएको बताएका छन् ।

आन्दोलनकारीले आफूहरुलाई भिडको बीचमा राखेर कुटेको र सो क्रममा कसैलाई फोन गर्न समेत नदिएको नेता रोकाले बताए । आन्दोलनकारीले कुटपिट गर्दै रुकुमकोट पुर्याएपछि प्रहरीले उनीहरुलाई उद्धार गरेको बताइएको छ । हाल रोकासहित उनीहरु जिल्ला प्रशासन कार्यालयमा बसेको बताइएको छ ।

रुकुम पूर्वको स्थायी सदरमुकाम कायम गर्ने विषयमा कुटाइ खाने ४ जना नेताहरु गोल्खाडामा सदरमुकाम राख्नुपर्ने अडानमा छन् । यो समूहको नेतृत्व रोकाले गर्दै आएका छन् । सदरमुकाम कहाँ राख्ने भन्ने बारे विवाद बढेपछि यसबारे सर्वोच्च अदालतमा मुद्दा पनि दायर गरिएको छ । उक्त मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ ।

२०७४ माघ ११ गतेको मन्त्रिपरिषद्को बैठकले जिल्लाको स्थायी सदरमुकाम गोल्खाडा कायम गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको उक्त निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट हालिएको थियो । अदालतले पछिल्लो पटक मुद्दाको पेशी यही माघ २७ गते तोकेको छ ।

सरकारको निर्णय कार्यान्वनको दबाबका लागि गोल्खाडा पक्षधरले यही २२ गते रुकुमकोटमा शान्तिपूर्ण र्‍यालीको तयारी गरेपछि रुकुमकोट पक्षधर थप आन्दोलित भएका हुन ।

गोल्खाडा र त्यस आसपासका सर्वसाधारण सरकारको निर्णय कार्यान्वन गर्नुपर्ने भन्दै आन्दोलनको पक्षमा छन् भने रुकुमकोट र त्यस आसपासका सर्वसाधारण रुकुमकोटमै जिल्लाको स्थायी सदरमुकाम कायम गराउनुपर्ने माग सहित आन्दोलनमा छन् ।

रुकुमकोट पक्षधरले रुकुमकोटमा कार्यक्रम गर्दै नदिने अडान लिएको छन् भने गोल्खाडा पक्षधर जसरी पनि शान्तिपूर्ण कार्यक्रम गर्ने पक्षमा उभिएका छन् ।

Loading...