निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने ठाउँमा मुआब्जाको खेलमा धमाधम घर बनाइदै, १४०० सुकुम्वासीले गरे कब्जा

बारा, १९ माघ । बाराको निजगढमा बन्ने भनेको अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा मुआब्जा पाउने आशमा धमाधम घर बनाउने क्रम बढेको छ । २०५१ सालमा सम्भाव्यता अध्ययन भएको यो विमानस्थल केहविर्षदेखि सरकारले राष्ट्रिय  गौरवको आयोजनामा पनि राखेको छ । तर, विमानस्थल बन्ने छाँटकाँट अझैसम्म देखिएको छैन ।

विमानस्थल निर्माणका लागि आवश्यक ११ हजार ७ सय ७५ विगाह जग्गा आवश्यक हुने भनिएको छ । त्यो जग्गामध्ये विमानस्थलका लागि अहिले नै प्रयोग गर्न सकिने जग्गा अलिकति पनि छैन । विमानस्थलका लागि हेरिएको जग्गामध्ये ७ सय ५० विगाह जग्गा सुकुम्वासीले कब्जा गरिसकेका छन् । जुन जग्गामा १ हजार ४ सय घरधुरी सुकुम्बासी बस्ती बसिसकेको छ । बाँकी १ सय १० विगाह जग्गा निजी जग्गा हो । जो विभिन्न व्यक्तिको नाममा छ । बाँकी १० हजार ९ सय १५ विगाह क्षेत्रफलमा घना जंगल छ । जुन जंगल फडानी गर्ने विषयमा पनि ठूलै विवाद छ ।

निजगढ विमानस्थलका लागि प्रत्येक वर्ष सरकारले बजेट विनियोजन गर्दै आएको छ । तर, काम भने हल्ला खल्ला गर्ने वाहेक केही पनि भएको छैन । स्थानीयबासीले अहिलेसम्म बजेट पचाउने काम मात्रै भएको आरोप लगाउँदै आएका छन् । केही आर्थिक वर्षयता निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भनेर रकम विनियोजन आउने गरेको भए पनि खर्च कहाँ गर्ने भन्ने अन्योलले काम त्यसै रोकिएको छ ।

मुलुकमा एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदा परेको अप्ठ्यारोलाई समाधान गर्नका लागि र तराईको विकास र त्यहाँको औद्योगिक तथा व्यवसायिक विकासका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनिएको हो ।

अहिले वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन स्वीकृत भएर निर्माण मोडालिटी टुंगो लागेको छ । ग्राउन्ड क्लियरेन्सका लागि मुआब्जा वितरण भइरहेको छ । बाँकी जग्गाको बाँकी छ ।

तराईको लाइफलाइन भनिएको यो विमानस्थलको चार किल्ला पहिचान गरी कंक्रिट डिमार्केसनको काम सकिसकेको छ । पछिल्लो समय रुख कटानले विवाद सिर्जना भएको छ । गत वर्ष मन्त्रिपरिषद्ले उक्त विमानस्थलको सडक निर्माण तथा विमानस्थल क्षेत्रको रुख कटान सम्बन्धी कार्यका लागि नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेअनुरुप नेपाली सेना र प्राधिकरणबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको थियो । यस सम्बन्धमा स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदनअनुसार प्रथम चरणमा निर्माण गरिने क्षेत्रभित्रका रुख कटान आदेशका लागि प्रक्रिया अगाडि बढेको बताइन्छ ।

विमानस्थल निर्माणको मोडालिटी टुंगो लागे पनि कसले बनाउने भन्ने आधिकारिक सूचना बाहिर आएको छैन । यस आयोजनामा धेरै विदेशी कम्पनीहरुले चासो राखेका छन् । त्यसमध्ये कतार सरकारले पनि चासो राखेको छ । विमानस्थल निर्माणका लागि सरकारले कतारलाई प्रस्ताव गर्दै विस्तृत विवरण कतारलाई पठाएको समाचारहरु पनि बाहिर आएका छन् ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पहिलो चरणमा ३ हजार ६०० मिटर लम्बाई र ४५ मिटर चौडा धावनमार्ग बन्ने बताइको छ। १९ वटा विमान पार्किङ बे र २ कार्गो पार्किङ बे हुने बताइन्छ । विमानस्थलका लागि आवश्यक कन्ट्रोलटावर २ हजार वर्ग मिटरमा निर्माण हुनेछ।

विमानस्थलमा ७५ हजार ५ सय वर्ग मिटरको अन्तर्राष्टिय टर्मिनल भवन र आन्तरिक टर्मिनल भवन १५ सय वर्ग मिटरको बन्नेछ। कार्गोका लागि भने ५ हजार वर्ग किलो मिटरको टर्मिनल भवन आवश्यक रहेको प्राधिकरणले जनाएको छ। एयर्पोट रिसोर्स एण्ड फाएरफाइटिङ १५ सय वर्ग मिटरमा बन्ने छ ।

Loading...