क्यान मेलामा ड्रोन र रोबोटसहित नयाँ प्रविधिप्रति अत्यधिक आकर्षण

काठमाडौँ, १९ माघ । भृकुटीमण्डपमा जारी सूचना प्रविधिसम्बन्धी ‘क्यान इन्फोटेक’ मेलामा नौला प्रविधि अवलोकनार्थ सर्वसाधारणको आकर्षण बढ्दो छ ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले यही माघ १५ गतेदेखि आयोजना गरेको २५औँ क्यान मेला तीन दिनमै डेढ लाखभन्दा बढीले अवलोकन गरेका छन् ।

दैनिक जीवनमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिएका कारण पनि अवलोकनकर्ता विगतमा भन्दा बढी आकर्षित भएको क्यान महासङ्घकी उपाध्यक्ष सुनैना घिमिरेले बताए । मेलामा दूरदराजमा ड्रोन प्रयोग गरी औषधि ओसारपसार गर्ने, दूरशिक्षा सिकाइ, स्मार्ट होम र कृषि क्षेत्रमा प्रविधिको प्रयोग व्यवहारिक रूपमै देखाइएको छ ।

“ड्रोनबाट दूरदराजमा औषधि पठाउन सकिने, एक ठाउँबाट दुई–तीन ठाउँमा अध्ययन–अध्यापन गराउन सकिनेलगायत प्रविधिको व्यवहारिक प्रयोगमा यसपटक विशेष ध्यान दिएका छौँ”, उहाँले भन्नुभयो, “त्यसकारण पनि क्यान इन्फोटेक २०१९ विगतको भन्दा भिन्न छ ।”

‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एशोसिएसन विथ इसेवा’ नाम दिइएको उक्त मेलामा सूचना तथा सञ्चार क्षेत्रको नौला प्रविधि र उपकरणका साथै नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविविध प्रदर्शनीमा राखिएका छन् ।

क्यान महासङ्घका अध्यक्ष हेमन्त चौरसियाले यसपटकको सूचना प्रविधि प्रदर्शनी सर्भिस सेक्टर र इन्नोभेसन केन्द्रित भएको बताए । “यसपटक बैंकिङलगायत क्षेत्रका लागि प्रविधिको प्रयोगलाई क्यानले विशेष प्राथमिकता दिएको छ । इन्नोभेसन सेक्टरमा आउन चाहनेका लागि मेला एक्सपोजर बनेको छ”,उनले भने ।

रोबोट विशेष आकर्षण

क्यान मेलामा रोबोट ब्याटल कम्पिटिशनमा अवलोकनकर्ताको आकर्षण बढेको छ । रोबोटिक्स जोनमा मेलाको अन्तिम दिन आइतबार (२० गते)सम्म पाँच दिन रोबोट ब्याटल कम्पिटिशन हुनेछ । विजेता प्रथम, द्वितीय र तृतीयलाई पुरस्कारको व्यवस्था पनि गरिएको क्यान महासङ्घले जनाएको छ ।

मेलामा बिहीबार पनि प्रविधिको माध्यमबाट विद्यार्थीलाई अध्ययन गराइएको थियो । मेलास्थल आएका काठमाडौँको पद्मकन्या माध्यमिक विद्याल र बुटवलको कालिका माविका विद्यार्थीलाई एकसाथ प्रविधिको माध्यमबाट बूढानीलकण्ठ स्कूलका शिक्षकले पढाएका थिए ।

बुधबार धादिङबाट आएका विद्यार्थीलाई बुटवलको कालिका माविका शिक्षकले प्रविधिको माध्यमबाटै अध्यापन गराएका थिए । मेलाको तेस्रो दिन बिहीबार वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टीका नेता देवेन्द्र पौडेल, विद्यार्थी नेता नयनसिंह महर, नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृत, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, व्यापारी, व्यवसायी, कलाकार, खेलाडीलगायत विभिन्न पेशागत सङ्घ सङ्गठनका प्रतिनिधिले अवलोकन गरेका थिए ।

कूल १७५ स्टल रहेको मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायत स्टल छन् । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क रु १०० र विद्यार्थीलाई रु ५० तोकिएको छ ।

Loading...