‘मुलुक परिवर्तनमा साहित्यिक क्षेत्रको योगदान उच्च’

झापा, माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको राजनीतिक परिवर्तनमा साहित्यिक क्षेत्रको योगदान उच्च रहेको बताएका छन् ।

भवानी घिमिरे साहित्यिक प्रतिष्ठान झापाले बिर्तामोडमा आयोजना गरेको दुई दिवसीय ‘मितेरी साहित्यिक सम्मेलन–२०७५’को उद्घाटन गर्दै उनले मुलुकको राजनीतिक परिवर्तनमा साहित्यिक क्षेत्रको योगदान अतुलनीय रहेको बताए ।

“मुलुकमा जति पनि आन्दोलन भए ती सबै साहित्यिक र सांस्कृतिक चेतका कारण सफल भएको छ”, उनले भने, “साहित्य क्षेत्रकै योगदानका कारण मुलुकमा लोकतान्त्रिक गणतन्त्र आएको हो ।” मुख्यमन्त्री राईले प्रगतिशील गीत, साहित्यिक रचना, उपन्यास पढेर र सुनेर आफू वामपन्थी आन्दोलनमा लागेको स्मरण गरे ।

साहित्यकार तथा राजनीतिज्ञ भवानी घिमिरेको योगदानको सम्मान सबैले गर्नुपर्नेमा जोड दिँदै उहाँले प्रदेश सरकारले प्रतिष्ठानलाई सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले प्रदेश सरकारले प्रदेश नं १ मा रहेका १२५ भन्दा बढी जातजातिलाई एकापसमा जोड्न प्रदेशस्तरीय सङ्ग्रहालय निर्माण गर्न लागिएको समेत बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बुहलता नै नेपालीको शक्ति भएको बताउँदै साहित्यकार तथा राजनीतिज्ञ भवानी घिमिरेमा बहुलतामा रहेको विभेदलाई छलफल र विमर्श गरेर समाधान गर्ने सामथ्र्य रहेको बताए ।

प्रतिष्ठानका अध्यक्ष सरोज ओलीको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटी, प्रदेशसभा सदस्य देवराज घिमिरे, पत्रकार तथा साहित्यकार चन्द्र भण्डारी, साहित्यकार शेरबहादुर इङ्नाम, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, प्राज्ञ कलाकार पवन राजवंशीले घिमिरेको योगदानको चर्चा गरेका थिए ।

दुई दिनसम्म चल्ने सम्मेलनमा नेपाल तथा भारतमा छरिएर रहेका नेपाली भाषी साहित्यकारहरू सहभागी भएका छन् । साहित्यिक तथा पत्रकार भवानी घिमिरेको सम्मान तथा योगदानको कदरस्वरुप २०७५ असार २५ गते प्रतिष्ठान स्थापना भएको हो ।

Loading...