पर्यटन बोर्डमा मनास्लु हिमाल क्षेत्रका तस्बीर प्रदर्शनी

काठमाडौँ, १८ माघ । मनास्लु हिमाल र आसपासको प्रकृति, संस्कृति, जीवजन्तु र जनजीवन समेटिएको तस्बीर प्रदर्शनी नेपाल पर्यटन बोर्डमा शुक्रबारदेखि शुरु भएको छ ।

बोर्डको ‘फोटो नेपाल’ कार्यक्रमअन्तर्गत पत्रकार लक्ष्मीप्रसाद ङाखुसीले खिच्नुभएका ३५ फोटो प्रदर्शनीमा राखिएको छ । विगत ११ वर्षदेखि सो क्षेत्रमा आठ पटकको आफ्नो भ्रमणका क्रममा खिचेका तस्बीर प्रर्दशनी गरिएको फोटो पत्रकार ङाखुसीले बताए । प्रदर्शनी सात दिन चल्नेछ ।

मनास्लु संसारको आठौँ र नेपालको सातौँ अग्लो हिमाल हो । यसको उचाइ (८,१५६ मिटर) छ । विश्वका १४ अग्ला मध्ये सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) सहित आठ वटा नेपालमा पर्छन । मनास्लु क्षेत्रमा पर्यटक पदयात्रा तथा हिमाल आरोहणमा जाने गर्छन् ।

मनास्लु गन्तव्यसँगै त्यहाँको स्थानीय परिकारको स्वाद पनि आज उद्घाटनको दिन उपस्थित अवलोकनकर्ताले चाख्ने मौका पाए । फापरको रोटी, मुलाको अचार र आलु दमको स्वाद लिने पारखीको घुइँचो थियो ।

बोर्डले यो पटकदेखि जुन क्षेत्रको तस्बीर प्रदर्शनी हुन्छ सोही क्षेत्रको स्थानीय परिकार र रहनसहनलाई समेत समावेश गरिने जनाएको छ । बोर्डका वरिष्ठ अधिकृत सुदन सुवेदीले गन्तव्य प्रवद्र्धनसँगै स्थानीय खानाको परिकार र जीवनशैलीलाई पनि प्रस्तुत गरेर प्रवद्र्धन गर्ने उद्देश्यले फरक प्रदर्शनी गरिएको बताए ।

बोर्डले विगत तीन वर्षदेखि हरेक अङ्ग्रेजी महीनाको पहिलो शुक्रबार फोटो प्रदर्शनी गर्दै आएको छ ।

Loading...