पारसको मुटु जिर्ण अवस्थामा, अहिलेसम्म अस्पतालमा भेटन आएनन ज्ञानेन्द्र र हिमानी

काठमाडौं । पूर्वयुवराज पारस वीरविक्रम शाह ४ दिनदेखि गम्भीर अवस्थामा नर्भिक हस्पिटलमा उपचाररत छन् । तेस्रोपटक हृदयघात भएपछि अस्पताल भर्ना भएका उनलाई एन्जियोप्लास्टी तथा स्टेन्ट प्रत्यारोपण गरिएको छ ।

डाक्टरहरुले उनी अझै खतरामुक्त नभइसकेको बताइरहेका छन् । पारस अस्पतालमा उपचाररत रहँदा उनका बुबाआमा र पत्नी साथमा छैनन् । पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल गत आइतबार मात्र एक महिने भ्रमणका लागि सिमरा पुगेका थिए ।

पत्नी हिमानी भने थाइल्यान्डमा छिन् । छोरा बिरामी भएको खबर सुनेपछि पूर्वरानी कोमल सोमबार रातारात गाडीबाटै काठमाडौं आइन् तर, पूर्वराजा भने आएनन् । तेस्रोपटक हृदयघात हुनु खतरनाक अवस्था हो । यस्तोमा ज्यान जोगिने सम्भावना निकै न्यून हुने चिकित्सकहरु बताउँछन् । यसपालि पारसको मुटुका दुबै भल्व बन्द भएकाले जटिल अवस्था थियो ।

तर, उनी भाग्यमानी सावित भए । लगभग माया मारिसकेको अवस्थाबाट उनलाई प्राडा. यादवदेव भट्टको टोलीले बचायो । अहिले उनको अवस्था सुधारोन्मुख त छ तर ७२ घन्टासम्म केही भन्न नसकिने डा. भट्टले बताएका छन् ।

छोरा यसरी मृत्युसँग लडिरहँदा हवाई मार्गबाट आधा घन्टाको दुरीमा रहेका बाबु ज्ञानेन्द्रले अस्पताल आउने जाँगर नचलाउनु उदेकलाग्दो देखिन्छ । यति मात्रै होइन, पूर्वरानी कोमल पनि छोरालाई सोमबार राति भेटेर के-के न बिते झैं गरी भोलिपल्टै जहाज चढेर सिमरा फर्किसकेकी छन् ।

यतिबेला यी बाबुआमाको सबैभन्दा ठूलो प्राथमिकता र चिन्ता छोराको स्वास्थ्य हुनुपर्ने हो । उनीहरुले तत्काल सिमराको भ्रमण रद्द गरेर दुवैजना काठमाडौं आउनुपथ्र्यो र छोराको रेखदेख गर्नुपर्थ्यो ।

बाबुछोराको सम्वन्ध त्यति सुमधुर थिएन होला । पारसका गलत क्रियाकलापहरुले पूर्वराजा ज्ञानेन्द्र पहिल्यैदेखि उनीसँग सन्तुष्ट छैनन् । पारसका विभिन्न हर्कतले राजसंस्थालाई नै बदनाम तुल्याउने गरेका छन् । तर, जेजस्ता भए पनि सन्तान भनेको सन्तान नै हो । माया भई नै हाल्छ । यदि पारसको ज्यान तलमाथि भएको भए ज्ञानेन्द्रले फेरि उनको अनुहार देख्न पाउने थिएनन् ।

०७२ सालमा पारसलाई हृदयघात हुँदा पूर्वराजा आफैं खाना लिएर अस्पताल पुगेका थिए । कोमल र हिमानीले उनलाई दिनभरी अस्पतालमा रुँगेका थिए । यतिबेला पारसकी पत्नी हिमानी थाइल्यान्डमा छिन् । त्यहाँ पढाउन राखिएका दुई छोरीहरु पूणिर्का र कृतिकाको हेरचाहका लागि उनी गएकी हुन् ।

पारस र हिमानीको सम्वन्ध बिग्रेको धेरै भयो । हिमानीजस्ती पत्नी हुँदाहुँदै पारसले थाइल्यान्डमा थाइ युवतीसँग प्रेम गर्न पुगे । अघिल्लोपटक हृदयघात हुँदा पारसलाई तिनै प्रेमिकाले अस्पताल पुर्‍याएकी थिइन् । त्यतिबेला पतिको हेरचाह गर्न हिमानी नेपालबाट थाइल्यान्ड पुगेकी थिइन् । तर, यसपालि थाइल्यान्डबाट नेपाल आउन भ्याएकी छैनन् ।

अस्पतालको शैयामा रहेका छोरालाई आमा-बाबुले निधारमा हात राखिँदिदा पनि ठूलो उर्जा प्राप्त हुन्छ । पत्नीले हात मुसारिदिँदा पनि आत्मबल पैदा हुन्छ । पारसलाई सम्भवतः यसको खाँचो छ ।

पारसका छोरा हृदयन्द्र सानै छन् । बरु उनले बाबुको रेखदेख गरिरहेका छन् । उनी दैनिक अस्पताल धाउँछन् र बुवासँग समय बिताउँछन् । निकटवर्तीहरूका अनुसार छोराछोरीहरु पनि बाबु भनेपछि हुरुक्कै हुन्छन् ।

त्यसो त विभिन्न जमघटहरुमा पारस र हिमानी सँगै देखिएका पनि छन् । तर, उनीहरुको बडी ल्यांग्वेज हेर्दा अहिले पनि सम्वन्ध सुधार नभएको प्रष्ट देखिन्छ ।

सम्वन्ध बिग्रिनुमा पारस नै बढी जिम्मेवार छन् भन्नेमा दुई मत हुन सक्दैन । तर, पनि यतिबेला भने उनलाई हिमानीको भौतिक साथको खाँचो छ । बिग्रेको सम्वन्धलाई नयाँ आयामबाट सुरु गर्न उनका लागि यो एउटा अवसर पनि हुन सक्छ ।

राजसंस्था निकट व्यक्तिहरु भने पूर्वराजा र पूर्वयुवराज्ञीले पारसको स्वास्थ्योपचारमा चासो र चिन्ता लिइरहेको बताउँछन् । ‘उहाँहरुले दैनिक फोनबाट जानकारी लिइरहनुभएको छ, पहिले भेट्न आउने योजना भए पनि स्वास्थ्यमा अपेक्षित सुधार आएकाले नआउनुभएको होला,’ एक राजावादीले भने ।

पारसलाई अस्पतालमा बहिनी छोरा हृदयन्द्र, बहिनीहरु प्रेरणा, शीताष्मा, दिलाशा, पूजा, ज्वाईं राजीव शाही लगायतले हेरचाह गरिरहेका छन् । राजनीतिक दलका शीर्ष नेता तथा सरकारका उच्च ओहदाका व्यक्तिहरु पारसलाई भेट्न गएका छैनन् । राजावादी नेताहरु कमल थापा र पशुपतिसमशेर जबराले भने उनलाई भेटेका छन् ।

पारस अझै केही दिन अस्पताल बस्नुपर्ने चिकित्सकहरुको भनाइ छ । उनको मुटु जीर्ण अवस्थामा पुगिसकेकाले स्वास्थ्यमा निकै सतर्कता अपनाउनुपर्ने छ । पारस अहिले बोल्न सक्ने अवस्थामा छन् । यसपटक हृदयाघात हुँदा उनी बेहोस नभएको डाक्टरहरुको भनाइ छ ।

Loading...