भक्तपुरमा ९९ प्रतिशत पसल दर्ता नगरेरै सञ्चालन

भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिले बजार अनुगमन गर्दा ९९ प्रतिशत पसल दर्ताबिना सञ्चालन गरेको पाइएको छ ।

नगर कार्यपालिका सदस्य रोशनमैयाँ सुवालको नेतृत्वमा आज भक्तपुरको घलातेदेखि चुनदेवीसम्मका विभिन्न पसल अनुगमन गर्दा दर्ताबिना पसल सञ्चालन गर्न पाइएको हो । समितिका सदस्य एवं वडा निरीक्षक रामकृष्ण प्रजापतिका अनुसार अनुगमनका क्रममा निसा फुड्स चाउचाउ उद्योगलाई फोहर र भुइँको मैदाबाट चाउचाउ बनाएको पाइएपछि त्यसो नगर्न निर्देशन दिइएको छ ।

चाउचाउ उत्पादन गर्ने मेशिन भएको स्थानमा बाहिर लाउने जुत्ता निषेध गर्न, एप्रोन प्रयोग गर्न, भुइँमा पोखिएको मैदा फेरी चाउचाउ नै बनाउने गरेको पाइएकाले भुइँमा पोखिएको मैदा पुनः प्रयोग नगर्न निर्देशनसहित सचेत गराएको छ ।

त्यस्तै नारायण सप्लायर्समा प्याकेजिङ सामानमा लेबल राख्न, चावल किराना पसलमा मूल्यसूची नभएको र म्याद नाघेको सामान राखिएकाले त्यस्ता सामान नष्ट गरिएको र दर्ता नभएका सबै पसललाई दर्ता गर्न निर्देशन दिएको प्रजापतिले बताए ।

अनुगमनमा शङ्कर इञ्जिनीयरिङ अटो वर्कशप, न्यू सोफा होम, सुजाता होटल, फर्निचर वर्कशप, सोलु खाजा घर, ब्रदर्श इन्टरप्राइजेज, सूर्यविनायक टायल्स एण्ड मार्बल हाउस, एबिआर हार्डवेयर, फर्निचर वर्कशप, मुक्तिनाथ काष्ठ फर्निचर उद्योग, भक्तपुर ग्लास हाउस, रिङ उद्योग, चावल किराना स्टोर, मोटरसाइकल वर्कशप, नारायण भुजा सप्लार्यस र जगतराम खाजा घर बिनादर्ता सञ्चालन गरिएको पाइएकाले तत्काल दर्ता गर्न निर्देशन दिएको छ ।

Loading...