उपसचिवको समायोजन आइतबारदेखि

काठमाडौँ, १८ माघ । सरकारले आइतबारदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा उपसचिव तहका कर्मचारीलाई समायोजन गर्ने भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका उपसचिव तहका कर्मचारीलाई आइतबारदेखि समायोजनको पत्र दिइने बताए । फाराम भर्दा प्रयोग गरेको इमेल र राहदानीको आधारमा मन्त्रालयको वेबसाइटबाट आफैँले नै समायोजनको पत्र प्रिन्ट गरिने उनले बताए ।

“अहिले उपसचिवको समायोजनको पत्र तयार हुँदैछ”, अधिकारीले भने, “आइतबारदेखि उपसचिवले आफ्नो समायोजनको पत्र आफँै मन्त्रालयको वेबसाइटमा गएर प्रिन्ट गरेर बुझ्ने छन् ।”

करीब दुई हजार उपसचिव तीनै तहमा समायोजन हँुदैछन् । यसअघि सरकारले पहिलो चरणमा सचिवलाई समायोजन गरिसकेको छ भने सहसचिवको समायोजनको लागि स्वीकृत गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा पत्र पठाइएको छ ।

सरकारले तीनै तहमा समायोजनका गर्नका लागि गत पुस ११ गतेदेखि माघ २ गतेसम्म अनलाइन फाराम भर्न समयसीमा तोकेको थियो । उपसचिवको समायोजन सकिएपछि शाखा अधिकृतदेखि तल्लो तहका कर्मचारीलाई समायोजन गरिने अधिकारीले बताए ।

सरकारले आगामी फागुन ३ गतेसम्म अनलाइन आवेदनको आधारमा सबै कर्मचारीको समायोजन गरिसक्ने लक्ष्य लिएको छ । सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ ।

Loading...