बाग्लुङमा हिमपातले तीन करोड भन्दा क्षति पुर्यायो

बाग्लुङ, १६ माघ । गत शुक्रबार रातिदेखि परेको हिमपातका कारण बागलुङको बडिगाड गाउँपालिकामा मात्र करीब तीन करोड बढीको क्षति पुगेको अनुमान गरिएको छ ।

भारी हिमपातका कारण विद्युत्का खम्बा भाँचिनुका साथै तार चुँडिएर ठूलो मात्रमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ । हिमपातले विद्युत्का तारमा लोड भएका कारण खम्बाले धान्न नसकेर भाँचिएको बडिगाड–४ का वडाध्यक्ष प्रेम गलामीले बताए ।

हिमपातका कारण उक्त वडासहित ५ र ८ नं वडालगायतका स्थानमा विद्युत्का खम्बा र तार चुँडिएका छन् । सो वडाहरुका जलजला, सिमाक र रणसिंहकिटेनी लगायतका गाउँमा विद्युत् सेवा अवरुद्ध भएसँगै सञ्चार सुविधासमेत अवरुद्व भएको गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले बताए ।

हिमपातले १०० किलोवाट क्षमताको चाचलघाट लघुजलविद्युत् आयोजना र ४३ किलोवाट दर्लिङखोला लघुजलविद्युत् परियोजना दर्लिङका खम्बा र तारमा ठूलो क्षति पुगेको छ । पाँच दिनदेखि विद्युत् तथा सञ्चार सेवा अवरुद्व हुँदा जनजीवन कष्टकर बन्दै गएको छ ।

जनजीवन सहजताका लागि गाउँपालिकाको तर्फबाट अन्य आयोजनाका केही खम्बा तत्काल पठाइने र केही काठका खम्बा प्रयोग गरी वैकल्पिकरुपमा विद्युत् सेवा सञ्चालनका लागि आवश्यक पहल थालिएको गाउँपालिकाका अध्यक्ष पाइजाले बताए । तत्काल विद्युत् तथा सञ्चार सेवा उपलब्ध गराउन गाउँपालिकाले आफ्नो स्रोत परिचालन गर्ने बताइएको छ ।

Loading...