राष्ट्रिय वाणिज्य बैंकले अहिलेसम्मकै सस्तो दरमा लोन दिन थाल्यो, २.३३ प्रतिशत ब्याजमै ऋण

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले अहिलेसम्मकै सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन थालेकाे छ । सहुलियत कर्जा याेजना अन्तरगत बैंककाे ऋण लिनेले अब २ दशमलव ३३ प्रतिशत मात्र ब्याज तिरे पुग्ने भएकाे छ । राष्ट्रिय वाणिज्य बैंकले सस्ताे ऋण दिन थालेपछि बैंकको कृषि कर्जा शाखामा सबैभन्दा बढी कर्जा माग्न आउनेहरुको लाइन देखिन थालेकाे छ । 

बैंकले अहिले सातवटा शीर्षकमा सहुलियत दरमा ऋण प्रवाह गरेकाे छ । जसअन्तर्गत १ करोड ६० लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरिसकेको छ । याे याेजना अन्तर्गत बैंकको आधारदरमा २ प्रतिशत थप्दा जति हुन्छ त्यसमा महिला उद्यमशीलताका लागि ६ प्रतिशत ब्याज सरकारले नै बेहोर्छ । जसअनुसार ६.३३ प्रतिशत आधारदर रहेको राष्ट्रिय वाणिज्य बैंकमा महिला उद्यमशीलताका लागि ८.३ प्रतिशत ब्याज पर्न आउँछ ।

यसमा ६ प्रतिशत ब्याज सरकारले बेहोर्ने भएपछि ऋणीले २.३३ प्रतिशत तिरे पुग्छ । यस्तो कर्जा विभिन्न चरण गरेर अधिकतम १५ लाख रुपैयाँसम्म पाइन्छ । अहिले सबैभन्दा सस्तो आधारदर (बेस रेट) राष्ट्रिय बाणिज्य बैंकको रहेको छ । अन्य ६ शीर्षकमा भने ३.३३ प्रतिशत ब्याज तिरे पुग्छ । यी शीर्षकमा पाँच प्रतिशत ब्याज सरकारले बेहोर्छ ।

व्यावसायीक कृषि तथा पशुपंक्षी कर्जामा अधिकतम पाँच लाख रुपैयाँसम्म ऋण पाइन्छ । यसमा यसमा ११ वटा फाइल प्रक्रियामा छन् । शिक्षित यूवा स्वरोजगारका लागि अधिकतम सात लाख रुपैयाँसम्म पाइन्छ । हाल यसका लागि ३ वटा फाइलका लागि २१ लाख रुपैयाँ स्वीकृत भइसकेको छ भने ६ वटा फाइल प्रक्रियामा छन् ।

यता, वैदेशिक रोजगारबाट फर्केका युवा परियोजना कर्जा अधिकतम १० लाख रुपैयाँसम्म पाइन्छ । एउटा फाइल जसमा १० लाख रुपैयाँको कर्जा स्वीकृत भएको छ भने सात वटा फाइल प्रक्रियामा छन् । दलित समुदाय व्यवसाय कर्जा अन्र्तगत १० लाख रुपैयाँसम्म पाइन्छ । हालसम्म यस शीर्षकको कर्जामा १० लाख रुपैयाँको एउटा फाइल स्वीकृत भएको छ भने ७ वटा फाइल प्रक्रियामा छन् ।

यस्तै उच्च प्राविधिक तथा व्यावसायीक शिक्षाका लागि पाँच लाख रुपैयाँसम्म ऋण पाइन्छ । यसमा पाँच लाख रुपैयाँको ऋण स्वीकृत भएको छ भने सातवटा फाइल प्रक्रियामा छन् । भूकम्पपीडित निजी आवासका लागि ३ लाख रुपैयाँसम्म ऋण पाइन्छ । यस्तो ऋण राष्ट्रिय वाणिज्य बैंकबाट १७ लाख रुपैयाँ बराबरको स्वीकृत भइसकेको छ ।

यी सबै शीर्षकका ऋणमा ऋणीले ३.३३ प्रतिशत ब्याज तिरे पुग्छ । वाणिज्य बैंकको आधारदर ६.३३ प्रतिशतमा २ प्रतिशत थप्दा ८.३३ प्रतिशत हुन्छ यसमा सरकारको पाँच प्रतिशत अनुदान हुँदा ऋणीले ३.३३ प्रतिशत ब्याज तिरे पुग्छ । यी सबै ऋण पाँच वर्षभित्र चुक्ता गरिसक्नुपर्नेछ ।

सरकारी बैंक राष्ट्रिय बाणिज्य बैंकले गत मंसिरमा आफ्ना सबै शाखालाई सहुलियत पूर्ण कर्जाको व्यवस्था गर्न परिपत्र गरेको थियो । पुस २२ गतेदेखि यसले कर्जा दिन शुरु गरेको हो । विभिन्न सात शीर्षकमा हालसम्म १ करोड ६० लाख रुपैयाँ कर्जा स्वीकृत भइसकेको छ । ७८ वटा फाइल अहिले स्वीकृत हुने प्रक्रियामा छन् ।

सरकारले सातवटा विभिन्न शीर्षकमा दिन थालेको सहुलियतपूर्ण कर्जामा सबैभन्दा बढी महिला उद्यमशील कर्जा स्वीकृत भएको छ । राष्ट्रिय वाणिज्य बैंकमा सबैभन्दा बढी आवेदन पनि यसैमा परेको छ । २४ वटा फाइल स्वीकृत भएकोमा ११ वटा फाइल महिला उद्यमशिलता कर्जाकै रहेको कर्जा शाखाका नारायण लामिछाने बताउँछन् ।

कर्जा लिन चाहने महिलालाई बैकले कर्जा मागको निवेदन उपलब्ध गराउँछ । निवेदकले भर्नुपर्ने विवरण फारम, परियोजना प्रस्तावको ढाँचा बैंकले नै उपलब्ध गराउनेछ । बैंकले उपलब्ध गराएको फारममा भने जति विषय राखेर भर्नुपर्नेछ । यसका लागि फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि, आन्तरिक राजस्व कार्यालयमा दर्ता भएको स्थायी दर्ता नम्बर (प्यान नं.) को प्रतिलिपी पेश गर्नुपर्नेछ । ऋणीले सम्बन्धित बैंकमा अनिवार्य रुपमा खाता खोलेको हुनुपर्नेछ । ऋणी र जमानत दाताको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, एक सगोल परिवारको सदस्यको नागरिकताको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

Loading...