नक्कली ब्ल्यू बुक बनाएर पौने तीन करोड ठगी गर्ने पक्राउ

काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली ब्ल्यू बुक बनाई बैँकबाट कर्जा लिएर रु दुई करोड ७१ लाख ७६ हजार ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले देव विकास बैंकका विभिन्न शाखाबाट सवारी कर्जा लिने प्रयोजनका लागि सम्बन्धित शाखा कार्यालयको कर्मचारी र मूल्याङ्कनकर्तालाई सवारी देखाई ठगी गर्ने आठ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका ऋणी ३६ वर्षीय नारायण श्रेष्ठ, ३० वर्षीय बालकृष्ण श्रेष्ठ, ३४ वर्षीय चेतबहादुर श्रेष्ठ, २६ वर्षीय विकास श्रेष्ठ, ३२ वर्षीय नविन श्रेष्ठ, ४२ वर्षीय कृष्णबहादुर खत्री, मूल्याङ्कनकर्ता पर्साका नरेशमान सिंह अमात्य र बैंकका शाखा प्रबन्धक काठमाडौँका सरिनशङ्कर श्रेष्ठ छन् ।

ब्यूरोका प्रवक्ता उमाप्रसाद चतुर्वेदीले यातायात कार्यालयबाट प्राप्त प्रतिलिपि ब्ल्यू बुकमा गलत विवरणसहित सही छाप गरी सुरक्षणस्वरुप बैंकमा धितो राखी विभिन्न ११ वटा ऋणीको नाममा नक्कली कागजात बनाएर ठगी गरेको जानकारी दिए ।

पक्राउ परेकालाई बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ र मुलुकी ऐन सरकारी छाप दस्तखत कीर्ते कागजको महलबमोजिम अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ ।

Loading...