क्रिकेटमा नेपालको अर्को सफलताः युएईलाई ४ विकेटले पराजित गर्दै नेपाल एकदिवसीय म्याच विजेता

काठमाडौं, १४ माघ । नेपाल अन्तराष्ट्रिय क्रकेटमा अर्काे एेतिहासिक सफलता हात पारेकाे छ । यूएईविरुद्धको तेस्रो एकदिवसीय खेलमा ४ विकेटले पराजित गर्दै नेपाल एक दिवसीय म्याच विजेता बनेकाे हाे । 

गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै उपाधि जितेर ऐतिहासिक सफलता हात पारेको हो । यसअघि नेदरल्यान्ड्ससँग भएको पहिलो एकदिवसीय सिरिज भने १–१ को बराबरी टुंगिएको थियो ।

पारस खड्काको कप्तानी इनिङसँगै आईसीसी क्रिकेट एकेडेमीमा यूएईले दिएको २५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । खड्काले उत्कृष्ट प्रदर्शन गर्दै शतक बनाए । छैटौं विकेटको रुपमा आउट हुनुपूर्व उनले ११५ रन बनाए । उनले १०९ बलमा १५ चौका र एक छक्का प्रहार गरे ।

नेपालले पहिलो विकेट भने सस्तैमा गुमेको थियो । नेपालको स्कोर १९ रन हुँदा ओपनर विनोद भण्डारी ९ रनमा आउट भए । तर, पारसले उपकप्तान मल्लसँग दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्दै नेपालको पारी उकासे । ज्ञानेन्द्र ३१ रनमा आउट भए । त्यसपछि आएका व्याट्म्यानहरु दीपेन्द्र सिंह ऐरी र सन्दीप जोराले ठूलो पारी खेल्न सकेनन् । तर, एउटा एण्डमा पारस टिकिरहे ।

पाँचौं विकेटका लागि पारस र रोहितकुमार पौडेलले ५४ रनको साझेदारी गरे । रोहित १६ रनमा आउट भए । आशिफ शेखसँग ३२ रनको साझेदारी गरेका पारस ३८.५ ओभरमा ११५ रनमा आउट भए तर, जितको आधार बनाइसकेका थिए । आरिफ र सोमपालले त्यसलाई पूर्णता दिए । सोमपाल २६ र आरिफ २१ रनमा नटआउट रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २५४ रन बनाएको थियो । यूएईको सुरुवात खराब थियो । ४७ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो तर, मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हाले । साइमान अनवर र सीपी रिजवानले शतकीय साझेदारी गरे ।

यूएईको स्कोर १४५ रन हुँदा पाँचौं विकेटका रुपमा रिवाज ४५ रनमा आउट भए । उनलाई करण केसीले आउट गरे । तर, सातौं नम्बरमा आएका मोहम्मद बुटाले अनवरसँग मिलेर आक्रामक पारी खेलेपछि यूएईले राम्रो स्कोर बनायो । दुबैले छैटौं विकेटका लागि ८० रनको महत्वपूर्ण साझेदारी गरे । अनवर ८७ रनमा आउट भए ।

आक्रमब ब्याटिङ गरेका बुटाले मात्र ३१ बलमा अविजित ५९ रन बनाए । मोहम्मद नाबिद ११ रनमा नटआउट रहे । नेपालका लागि करण केसीले दुई विकेट लिए । सन्दीप लामिछाने, कप्तान पारस खड्का र सोमपाल कामीले समान १–१ विकेट लिए ।

यूएईविरुद्धको खेलमा युवा ब्याट्सम्यान सन्दीप जोराले डेब्यू गरे । कञ्चनपुरको भीमदत्त नगरका जोरी घरेलु क्रिकेटबाट चम्किएका ब्याट्सम्यान हुन् । सुरुवाती दुई खेलमा पवन शरार्फलाई खेलाइएको थियो । तर, अन्तिम म्याचमा उनको स्थानमा जोरालाई खेलाइएको हो ।

Loading...