सामाजिक शान्ति र सदभावका लागि मिडियाको भूमिकामाथि छलफल

काठमाडौं । सामाजिक शान्ति र सदभाव कायम गर्नका लागि मिडियाको भूमिकामाथि छलफल सुरु भएको छ । इन्टरफेथ पिस फेडरेसन (आईपिएफन) ले यस्तो छलफल सुरु गरेको हो ।

विभिन्न राष्ट्रिय मिडियामा कार्यरत पत्रकारहरु र आइपीएफएनमा आवद्ध विभिन्न व्यक्तिहरुको सहभागितामा यो कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै आइपीएफएनका नरेन्द्र पाण्डेले समाजका सबै समूहबीच मिडियाले संवाद कायम गराउनुपर्ने बताए । नेपालको यस विषयमा कमै मात्र ध्यान दिएको बताउँदै उनले समाजको शान्ति र सदभाव खलबलिन नदिन र मजबुत बनाउनका लागि मिडियाले ठूलो भूमिका खेल्ने बताए । उनले इन्टरफेथ आफैमा धर्म नभएको स्पष्ट पार्दै यो धर्म मान्न पाउने र नमान्न पाउने स्वतन्त्रताको कुरा भएको स्पष्ट पारे । उनले सबै धर्ममा आस्था राख्ने धर्म गुरु र तिनका अनुयायीहरुलाई एकै ठाउँमा ल्याउने र उनका सकारात्मक र नकारात्मक कुराहरुमाथि छलफल गराउने जानकारी दिए । पाण्डेले धार्मिक कुरा भन्दा पनि सबैको बीचको अन्तरसम्बन्ध बलियो बनाएर एक अर्कालाई बुझ्ने बुझाउने बातावरण तयार पार्नुपर्नेमा जोड दिए । उनले अतिवादी धार्मिक शत्रुताको खाल्डोलाई हटाउन मिडियाको सहयोगी हात चाहिने बताए । पाण्डेले १० वर्षे जनयुद्धमा पनि आफूहरुले द्धन्द्धरत पक्षहरुलाई संवादमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको जानकारी गराउँदै त्यसबारे खोज्न मिडियालाई प्रेरित गरे ।

त्यसैगरी कार्यक्रममा बोल्दै इन्टरफेथ एलायन्स फर पिसकी अध्यक्ष सीमा खानले अन्तर धार्मिक शान्ति, सद्भाव र विकासको विषयवस्तुबारे मिडियाले त्यति ध्यान दिन नसकेकोमा बताइन । उनले धार्मिक नेताहरूले पनि मानव अधिकारकर्मी, अभियन्ता, समाजसेवी र सेलिब्रेटीहरूसँग मिलेर सामाजिक सम्बन्धलाइ मजबुत बनाउन निकै धेरै काम गरेको बताइन । धार्मिक नेताहरूले कसरी समाजमा सकारात्मक प्रभाव पारिरहेका छन् भन्ने विषयमा मिडियाले गहिरो अध्ययनमूलक खबर सम्प्रेषण गर्नुपर्ने बताइन ।

त्यसैगरी कार्यक्रमा बोल्दै वैदिक सनातन धर्म कर्मकाण्ड महासंघ नेपालका उपाध्यक्ष रामचन्द्र भण्डारीले कुनै पनि व्यक्तिगत धर्मको स्वार्थमय रुची बिना नेपालको १२ धर्महरूले धार्मिक सहिष्णुता अभ्यास गर्नुपर्ने कुरामा जोड दिए । उनले ‘हिन्दु धर्मले कहिल्यै पनि मानिसको व्यक्तिगत विश्वास र विचारको बेवास्ता गर्न आदेश दिएको छैन । यदि कुनै व्यक्तिले धर्म परिवर्तन गर्न चाहन्छ भने त्यो उसको व्यक्तिगत रोजाइ हो तर देशमा भएको कुनै एउटा विशेष धर्म वा सरकारको स्वार्थमय रुचीको विषयमा आधारित नभएको उनले बताए ।

त्यसैगरी कार्यक्रममा इन्टरनेशनल प्यानल अफ पार्लियामेन्टरियन्स फर फ्रिडम अफ रिलिजन अर बिलिफका राष्ट्रिय संयोजक बि।पि। खनालले मिडियाको संख्या अत्याधिक तवरले बढे पनि पत्रकार तथा मिडियाकर्मीहरूलाई अन्तर धार्मिक सम्वादमा नसमेटिएको भन्दै गुनासो पोखे । उनले अन्तर धार्मिक वा अन्तर आस्थाको संवाद बढाएर समाजमा सकारात्मक परिवर्तन गराउन सकिने बताए । उनले अन्तरधार्मिक भन्दा धर्मको विषयमा कुरा नगरिरेको बताउँदै यो शान्ति र सद्भाव सम्बन्धी सम्बोधन भएको बताए । धर्म तथा आस्थाको स्वतन्त्रता नामक पुस्तकका लेखक समेत रहेका खनालले सर्वसाधारण आफ्नो पुस्तकलाई धार्मिक पुस्तकका रुपमा लिइएको गुनासो गरे । उनले अन्य देशहरुमा धेरै पहिलेदेखि इन्टरफेथको संवाद भइरहेको भए पनि नेपालमा भने यस विषयमा मिडियाको बुझाइ अझै बन्न नसकेके बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सचिव तथा ननस्टपखबर डटकमका प्रधान सम्पादक प्रभात चलाउनेले नेपाली समाजको विविधता विश्वभर नै नमूना रहेको बताउँदै त्यो विविधता धार्मिक क्षेत्रमा पनि रहेको बताए । फरक फरक आस्था राख्नेहरु पनि एकै ठाउँमा आआफ्ना विश्वाससहित बसेको र एकले अर्काको सम्मान गरिरहेको भन्दै यसलाई कायम राख्न मिडियाले ठूलो भूमिका खेल्न सक्ने बताए । उनले धार्मिक, सांस्कृतिक, जातीय र भौगोलिक विविधता नेपाली समाजको सुन्दर पक्ष रहेको भए पनि बेलाबेलामा यो सदभाव, आपसी सहिष्णुता खल्बलिन खोजेको बताए । नेपाली मिडिया सधै यो कुराप्रति सचेत रहेको बताउँदै उनले पत्रकारहरुको आचारसंहिताले पनि यसलाई उच्च प्राथमिकता दिएको बताए । उनले एक धर्म मान्नेले अर्को धर्म मान्नेको सम्मान गर्ने, धर्म मान्नेले नमान्नेको र नमान्नेले मान्नेको सम्मान गर्ने आधार बढाउन सके मात्र समाजमा शान्ति कायम हुन सक्ने बताए । नेपाली मिडिया बिकाउ समाचार खोजीको दौडमा लागेको भए पनि यसलाई पूरै नजरअन्दाज भने नगरेको बताए । उनले प्रेस काउन्सील र पत्रकार महासंघले पनि सधै पत्रकारहरुलाई आचारसंहिताका बारेमा पढाएर मिडिया र मिडियाकर्मीहरुलाई सामाजिक शान्ति, सदभाव र सहिष्णुतालाई मजबुत बनाउन सचेत गराउने गरेको जानकारी दिए । उनले सामाजिक रुपान्तरणको अभियानमा शान्ति र युद्धका बारेमा आआफ्नै परिभाषा र सापेक्षिक बुझाई रहेको बताउँदै विचार राख्न पाउने र बोल्न पाउने स्वतन्त्रताको सम्मान भए त्यसबाट समाज अझ बढी मजबुत हुनेमा जोड दिए ।

कार्यक्रममा इन्टरफेथ पिस फेडरेशनका उपाध्यक्ष पियारत्न महर्जनले मिडिया आजको समाजको सबैभन्दा शक्तिशाली संयन्त्र रहेको बताउँदै मिडियाले यस क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । कार्यक्रममा विभिन्न मिडियाबाट आएका सञ्चारकर्मीहरुले आआफ्ना धारणा र जिज्ञासाहरु प्रस्तुत गरेका थिए । कार्यक्रम युनाइटेड मिसन टु नेपालको सहयोगमा सम्पन्न कार्यक्रममा सो संस्थाका मोहन भण्डारी लगायतका व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो ।

Loading...