कांग्रेस नेताले उठाए गम्भीर प्रश्नः निर्मला पन्तको बलात्कारभएको दिन गृहमन्त्रीका छोरा कहाँ थिए ?

सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसनिकट युवा संगठन नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकलाई जोडेर आरोप लगाएका छन् ।

सुर्खेतकाे सदरमुकाम वीरेन्द्रनगरमा आयोजित सरकारविरोधी सभालाई सम्बोधन गर्दै बस्नेतले निर्मला पन्तको बलात्कारपछि हत्याको घटना हुँदा गृहमन्त्री पुत्र प्रतीक कहाँ थिए भन्ने जानकारी मागेका हुन् । सिधै घटनामा प्रतीकको संलग्नता नलगाए पनि बस्नेतले स्पष्ट बुझिने गरी त्यसको संकेत गरे ।

‘निर्मला पन्तको बलात्कार र हत्या हुँदा तपाईंका छोरा कहाँ थिए गृहमन्त्रीज्यू ?’, बस्नेतले प्रश्न गरे, ‘त्यसको जवाफ हामीलाई चाहियो ।’ बस्नेतले त्यसबारे थप बोल्दै गृहमन्त्री पुत्रको बानीव्यहोरा आफूलाई जानकारी रहेको भन्दै घटनामा संलग्न दोषीबारे गृहमन्त्रीले कारबाही नगरे सडकमा ल्याएर नंग्याउने चेतावनी दिए । ‘तपाईंका छोराको व्यवहार र चरित्र कस्तो हामीलाई छ भन्ने हामीलाई राम्रोसँग थाहा छ, बस्नेतले भने, ‘तपाईंले हत्यारा सार्वजनिक नगर्ने भए हामी सडकमा ल्याएर नङ्ग्याउँछौँ ।’

यसअघि पनि घटनाका बेला प्रतीक कञ्चनपुरमै रहेको चर्चा चले पनि त्यसमा सत्यता नभएको प्रष्टीकरण प्रहरीबाटै आइसकेको छ । निर्मलाको गत साउन १० मा बलात्कारपछि हत्या भएको थियो । उक्त दिन प्रतीक काठमाडौंमै थिए ।

बस्नेतले ‘हत्या, हिंसा र बलात्कार कम्युनिष्ट सरकारको उपहार’ भएको आरोपसमेत लगाउन भ्याए । बस्नेतले काँग्रेसप्रति पूर्वाग्रह राखेर आफ्ना स्वर्गीय नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा प्रस्तावित अस्पताल खारेज गर्ने र इतिहास मेटाउने चेष्टामा सरकार लागेको आरोप लगाए । तर, त्यो असम्भव रहेको उनको भनाइ थियो । बस्नेतले सरकारले आफ्नो कार्यशैली नसुधारै सडकबाटै ढालिदिने पनि दाबी गरे ।

उनले जनवर्गीय संगठन तथा पार्टीको सर्मथन भएको खण्डमा आफूहरू सडकबाटै सरकार फाल्न सक्ने बताए । ‘सरकारले हाम्रा नेताहरूको इतिहास मेट्न लागेको छ,’ उनले भने, ‘नेताको इतिहास मेटाउन खोज्ने कम्युनिस्ट सरकारविरुद्ध बलिदान दिन तरुण तयार छन् ।’

सुशील कोइरालाले बनाएको संविधानका धारा च्यातिन लागेको उनको आरोप छ । ‘अहिले सुशील कोइरालाले बनाएको संविधानको कम्युनिस्टहरूले धारा च्यातिरहेका छन्,’ उनले भने, ‘यसरी संविधानविरुद्ध जाने नै हो भने तरुण दल शीरमा कफन बाँधेर भएपनि आन्दोलनमा होमिन्छ । कम्युनिस्टसँगको यो अन्तिम लडाइँ पनि हो ।’

उनले कम्युनिस्ट सरकारले भ्रष्टाचार र महंगी मात्रै दिएको आरोप लगाए । ‘कम्युनिस्ट सरकारले अहिलेसम्म के दियो ?’ उनले भने, ‘दिएको छ त महंगी अनि भ्रष्टाचार ! त्यसविरुद्ध सबै तरुण जाग्नुपर्छ ।’

तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले सरकारका गलत कार्यविरुद्ध जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको बताए । ‘केन्द्रका साथीहरू ढुक्क हुनुस् । हामी सरकारविरुद्ध जस्तोसुकै आन्दोलन गर्न र साथ दिन तयार छौं,’ उनले भने, ‘लोकतन्त्रको रक्षाका लागि बलिदान दिन पनि तयार छौं ।’

यसैबीच कांग्रेसको विरोधका कारण राष्ट्रियसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सोमबार ११ बजे सुरु भएको बैठक कांग्रेस सांसदको अवरोधका कारण स्थगित भएको हो । बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।

आफ्ना पार्टीका नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताललाई सरकारले संघअन्तर्गत रहनेगरी गठनादेश नगरेको भन्दै कांग्रेसले विरोध जनाएको हो । त्यस्तै, डा. गोविन्द केसीसँगको पूर्वसहमति अनुसार चिकित्सा शिक्षा विधेयक नल्याइएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।

Loading...