३ महीनामा ५५० पटक बजार अनुगमन गरी ९४ जनालाई दण्ड

काठमाडौँ, १४ माघ । संविधानको मौलिक हक कार्यान्वयनका लागि बनेको उपभोक्ता संरक्षण ऐन लागू भएपछि राजधानीमा ५५० वटा बजार अनुगमन गरी ९४ जनालाई दण्ड जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

सङ्घीय संसद्का दुवै सदनबाट असोज २ गते ऐन पारित भएको थियो । विभागले असोज २६ गते ऐनको प्रति हात पारेपछि कात्तिक ७ गतेदेखि अनुगमन शुरु गरेको थियो । नियमावली भने अझै बनिसकेको छैन । नियमावली नबने पनि उपभोक्ता हितलाई ध्यान दिई बजार अनुगमन गरी कारवाही शुरु भएको विभागका सूचना अधिकारी रघुनाथ महतले राससलाई जानकारी दिए ।

संरचनाअनुसार तीन तहको सरकार गठन भएपछि स्थानीय तहको बजार अनुगमन स्थानीय सरकार, प्रदेशस्तरको प्रदेश सरकार र सङ्घीय सरकारले नीति निर्माण एवं अध्ययन अनुसन्धानका काम गर्ने व्यवस्था मिलाइएको उनले सुनाए ।

यस अवधिको अनुगमनका क्रममा गोठाटारस्थित भद्रकाली पेट्रोल पम्पले एक लिटरमा ३० मिलिलिटरभन्दा बढी तेल कम दिई ठगी गरेको भेटिएको विभागले जनाएको छ । एक लिटरमा १५ मिलिलिटरसम्म कम भएको हुने जनाइएको छ । पम्पलाई रु दुई लाख जरिवाना गरिएको थियो ।

अनुगमनका क्रममा कतिपय व्यवसायीले खरीद मूल्य नै नदेखाएको, कति सामानमा उत्पादन र उपभोग मिति उल्लेख नगरी बिक्री गरेको भेटिएकाले कारवाही गरिएको विभागले जनाएको छ । तीन महीनाको अवधिमा धेरै उपभोक्ताले अनुगमन गरी कारवाही गर्नुपर्ने माग गरिरहेको विभागले जनाएको छ ।

नयाँ कानूनअनुसार बजार अनुगमनमा गल्ती गरेको प्रमाणित भए दण्ड जरिवाना नै गर्ने व्यवस्था छ । यसअघिको ऐनमा सुधारका लाग पहल गर्ने व्यवस्था थियो ।

Loading...